काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबाट अदालतबारे टिप्पणी गर्दै सेटिङको विषय उठाए । उनले प्रचण्डतर्फ संकेत गर्दै ‘धादिङमा स्याल कराउँदा काठमाडौंमा कुखुरा हराएको’ टिप्पणी गरे । प्रचण्डले अदालतले मन्त्रिमण्डल विस्तारविरुद्ध आदेश दिनसक्ने भनेकोतर्फ ओलीको संकेत थियो जुन भयो पनि ।
ओलीले अदालतबाट राजनीतिक फैसला खोजिएको भन्दै विपक्षी गठबन्धनको आलोचना पनि गरे । ओलीनिकट नेताहरुले पछिल्लो समय अदालतको आदेशको आलोचना गर्न थालेका छन् ।
आज नेकपा एमाले स्थायी कमिटी बैठकले २७ जेठमा अदालतको आदेशलाई त्रुटीपूर्ण भनी निष्कर्ष समेत निकाल्यो । उक्त दिन अदालतले कर्णाली प्रदेशका ४ सांसदको बर्खास्ती रोक्न आदेश दिएको थियो । नेकपा एमालेको केन्द्रीय समितिले मात्र कारबाही गर्न सक्ने व्यवस्था भएको उल्लेख गर्दै कारबाहीलाई कानुन विपरित भनेको थियो । अदालतले महाधिवेशन आयोजक कमिटिको निर्णयमाथि नै प्रश्न उठायो ।
हालको कमिटीले गरेको निर्णय अमान्य हुने भन्दै पुरानै कमिटीको निर्णयमात्र वैध हुने आशयसहितको अदालतको आदेशले एमालेको हालको महाधिवेशन आयोजक कमिटिको वैधतामाथि नै अदालतले प्रश्न उठाएको छ । तर, ओलीले आज स्थायी कमिटी बैठक बोलाएर फेरि महाधिवेशन आयोजक कमिटीको बैठक १६ असारलाई डाकेका छन् ।
अदालतको आदेशलाई आधार मान्ने हो भने हालको एमालेको कुनैपनि कमिटीको निर्णयको वैधतामाथि प्रश्न उठ्नेछ । यसकारण पनि यो ओलीले अदालतलाई दिएको चुनौतीका रुपमा बुझिएको छ । अदालतको २७ जेठको आदेशलाई आधार मान्ने हो भने अहिलेको कुनैपनि कमिटीबाट ओलीले लिने एमाले पार्टीको निर्णयको वैधतामाथि नै प्रश्न उठ्न सक्छ ।
एमालेभित्र अहिले केपी शर्मा ओली अध्यक्ष छन् । उनी नवौं महाधिवेशनका निर्वाचित अध्यक्ष हुन् । उनले आफू र महासचिव इश्वर पोखरेलबाहेकको निर्वाचित कमिटी भंग गरिसकेका छन् । निर्वाचित कमिटी भंग गरी महाधिवेशन आयोजक कमिटी गठन गरेका छन् । यो कमिटीको वैधतामाथि माधवकुमार नेपाल खेमाले प्रश्न उठाउँदै आएको छ ।-फाइल तस्बिरः प्रमको सचिवालय