काठमाडौं, असार १५ । विदेशी नागरिकले स्थल मार्गबाट नेपाल प्रवेश गर्न नपाउने भएका छन् । सरकारले हालै सार्वजनिक गरेको विदेशबाट नेपाल आगमन हुने यात्रुहरूको व्यवस्थापनसम्बन्धी आदेश, २०७८ ले यस्तो व्यवस्था गरेको हो ।
कोभिड–१९ सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशी नागरिकको आवागमनलाई व्यवस्थित गर्न यस्तो आदेश जारी गरिएको हो ।आदेशको व्यवस्थाअनुसार विदेशी नागरिकले नेपालले निर्धारण गरेका सर्तहरूको पालना गरी हवाई मार्गबाट मात्र प्रवेश गर्न पाउनेछन् । नेपाली नागरिक भने दक्षिणतर्फका १३ वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्नेछन् । उत्तरतर्फको नाका भने आदेशमा समावेश गरिएको छैन ।
विदेशबाट नेपाल आउँदा हवाई यात्रुहरूले अध्यागमनमा दर्ता गर्नुपूर्व ७२ अघिल्लो १२ घण्टाभित्रको फोटो एवं बारकोडसहितको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण पेस गर्नुपर्नेछ । त्यस्तै सीसीएमसीको वेबसाइटमा रहेको आगमन फाराम भरेको यकिन गरेपछि मात्र यात्रुहरूको दर्ता गराउनुपर्ने व्यवस्था गरिएको छ ।
नेपाल फर्किनुपूर्व यात्रुहरूले क्वारेन्टिन बस्नका लागि होटल अनिवार्य बुक गरेको हुनुपर्छ । आफैँ होटल बुक नगरेको अवस्थामा सरकारले तोकेका होटलमा क्वारेन्टाइन बस्नसक्ने प्रावधान छ ।
खोपको मात्रा पूरा गरेको प्रमाणपत्र भएका र कोभिड–१९ परीक्षण रिपोर्ट नेगेटिभ भएका हवाई मार्गबाट आउने यात्रु १० दिन स्व–क्वारेन्टाइनमा बस्ने गरी गन्तव्य स्थलसम्म जान दिन सकिने व्यवस्था पनि गरिएको छ । निजले भरेको फाराम सम्बन्धित डीसीएमसी र स्थानीय तहमा भने अनिवार्य पठाउनुपर्नेछ ।
होटल क्वारेन्टाइनमा बसेका यात्रुहरूले सातौँ लिनमा आफ्नै खर्चमा कोभिड–१९ परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित स्थानीय तहको अनुगमनमा थप चार दिन होम क्वारेन्टाइनमा बस्ने गरी पठाउन सकिने व्यवस्था पनि गरिएको छ ।
डिपोर्टेसन, जेलमुक्त भई स्वदेश फिर्तीको क्रममा रहेका नेपालीलाई कूटनीतिक नियोगले छानबिन गरी आर्थिक अवस्था कमजोर भएको सिफारिस गरेका व्यक्तिलाई नेपाल सरकारले तोकेको क्वारेन्टाइमा राखिने व्यवस्था छ । त्यसरी क्वारेन्टाइनमा बसेकाहरूको कोभिड–१९ परीक्षणदेखि घरसम्म जाने खर्च नेपाल सरकारले नै बेहोर्नेछ । गोरखापत्र दैनिकबाट