Logo

ओली-नेपाल द्वन्द्वको टुंगो अदालतले लगाउने अवस्था



काठमाडौं, १८ असार । तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र महिनौं विवाद चल्यो । निर्वाचन आयोगले दुई पक्षबीचको विवादको टुंगो लगाइदिएन । त्यतिबेला अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड द्वन्द्व गरिरहे पनि औपचारिक फुट सर्वोच्च अदालतको फैसलाका कारण मात्र भयो ।

२३ फागुन २०७७ मा अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताइदिएको थियो । यसले ओली र प्रचण्डबीच वार कि पारको अवस्था बन्यो ।

अहिले नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच द्वन्द्व चर्किरहेको छ । ओली र नेपाल अलग बाटोमा गइरहेका छन् । तर, औपचारिक रुपमा दुवै एमालेमा नै छैन ।

ओलीले माधव नेपाललाई राजीनामा नदिएको भनी प्रश्न समेत गरेका छन् । उनले नवौं महाधिवेशनको निर्वाचित कमिटी पनि ब्युँताएका छन् । ८ स्थायी कमिटी सदस्य पनि थप गरेका छन् । जसमा माधव नेपालका २ विश्वासपात्र पनि समावेश गरिएका छन् । तर, जुन प्रक्रियाले निर्णय लियो त्यसप्रति नेपाल समूहको आपत्ती छ ।

बिहिबार नेपाल समूहको स्थायी कमिटी बैठक बस्यो । बैठकले आज डाकिएको एमाले बैठकमा सहभागी नहुने निर्णय लियो । ओलीले विधि र विधान मिचेको नेपाल समूहको आरोप छ ।

अहिले ओली र नेपालबीच कडा टकराव छ । ओलीले प्रतिनिधि सभा विघटनको कदम चालेका छन् । नेपालले भने यसको विरुद्ध विपक्षी गठबन्धनसँग हातेमालो गरेका छन् । ओलीलाई सत्ताबाट हटाउन नेपालले काँग्रेस सभापति शेरबहादुर देउवासँग हात मिलाएका छन् ।

देउवासहित प्रचण्ड, उपेन्द्र यादव मिलेर गठबन्धन बनाएका छन् । देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावको हस्ताक्षरकर्तामा नेपालसहित उनी पक्षधर २३ सांसद छन् । नेपालले देउवासँगको गठबन्धनमा डगमग नहुने स्पष्ट पारिसकेका छन् । यसकारण अब अदालतमा विचाराधीन रहेको यो विषयको मुद्दाले नै ओली र नेपालबीचको द्वन्द्व कहाँ पुग्ने हो टुंगो लगाउनेछ ।

सर्वोच्च अदालतले सम्भवन अर्को हप्ता प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दाको अन्तिम किनारा लगाउनेछ । मुद्दाको फैसलाले नै एमालेको भविष्य पनि टुंगो लगाउने देखिएको छ । नेकपाको भविष्यको टुंगो अदालतले लगाएजस्तै एमालेको भविष्यको टुंगो पनि अदालतले नै लगाउने अवस्था विकास भएको छ ।



प्रतिक्रिया दिनुहोस्