काठमाडौं, २० असार । नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता दिनानाथ शर्माले प्रतिनिधिसभा पूनःस्थापना हुने दाबी गरेका छन् । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘प्रतिनिधिसभा त अनिवार्य पूनःस्थापना हुन्छ । प्रधानमन्त्री र राष्ट्रपतिबाट असंवैधानिक काम भयो । उहाँहरुबाट गतिविधि भए । पहिलेपनि असंवैधानिक कदम भनेर अदालतले पूनःस्थापना गरेको थियो । अहिले पनि सम्मानित अदालतले संविधानको रक्षाको लागि प्रतिनिधिसभा अनिवार्य रुपमा पूनःस्थापना हुन्छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले त पोहोर चैत्रमै निर्वाचन गरिसकेको हो नि ? भन्दै उनले व्यंग्य कसे ।
उनले भने,‘प्रधानमन्त्रीले त एउटा निर्वाचन त पोहोर चैत्रमै गरिसक्नुभयो नि ऋषिजी, उहाँले दुई तिहाई पनि लिईसक्नुभयो । अहिले पनि उहाँले त्यही निर्वाचनको रटान लगाउनुभएको छ ।’ उनले संसद् पूनःस्थापना हुने विश्वास दिलाए । संसद् पूनःस्थापना भएपछि शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने दाबी गरे ।
उनले भने,‘हामीसँग किन बहुमत नहुनु ? १४६ जना त अदालतमा सशरिर उपस्थित् हुनुभएको छ । त्यो चाहीँ बहुमत होईन ?’ उनले संसद् पूनःस्थापना भएपछि देउवा प्रधानमन्त्री हुँदासम्म माधव नेपाल पक्षले साथ दिने विश्वास दिलाए । उनले भने,‘उहाँ त संविधानको रक्षाको लागि हामीसँगै हुनुहुन्छ । माधवजी लोकतन्त्रको रक्षक हो । संविधानको रक्षक हो । हामी सहयात्री हौं ।’