जनकपुर, २२ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधि सभा पुनःस्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतबाट परमादेश आउनेमा ढुक्क देखिएका छन् । उनले जनकपुरमा आज आफूहरुको पक्षमा फैसला आउने ठोकुवा समेत गरे ।
आज माओवादी केन्द्रीय सदस्य महादेव यादवलाई श्रद्धाञ्जली अर्पण गर्न आएका प्रचण्डले सर्वोच्च अदालतले संविधान विपरितको कदमलाई फेरि एकपटक खारेज गर्नेमा विश्वस्त रहेको बताए । विगतमा पनि संसद पुनःस्थापना भएको उल्लेख गर्दै प्रचण्डले यसपटक पनि अदालतले विगतमा जस्तै परमादेश जारी गर्ने आशा व्यक्त गरे ।
प्रचण्डले आफूहरु संविधान र राजनीतिक परिवर्तनको रक्षाका लागि लडिरहेको बताए । अहिलेको संघर्ष त्यसैका लागि भएको उनको भनाई थियो ।
सर्वोच्च अदालतले २८ असारमा प्रतिनिधि सभा विघटनविरुद्ध र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परेको रिटको अन्तिम किनारा लगाउने भएको छ । २१ असारमा रिटमाथिको सुनुवाई सकिएको छ ।