दमौली, २७ असार: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको दमौली–जामुने खण्ड २४ घण्टादेखि एकतर्फीरूपमा सञ्चालन छ । म्याग्दे गाउँपालिका–१ बरचौरमा शनिबार बिहान ४ बजे ठूलो ढुङ्गासहितको पहिरो खसेपछि २४ घण्टादेखि राजमार्ग एकतर्फी सञ्चालन भइरहेको हो ।
शनिबार बिहान ८ बजेदेखि नै एकतर्फी सञ्चालनमा आएको राजमार्ग दुईतर्फी बनाउने प्रयास भए पनि सफल नभएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । “ढुङ्गा फुटाउने काम भइरहेको छ, ठूलो भएकाले हिजो दिनभर पनि सकिएन”, उनले भने । राजमार्ग एकतर्फी हुँदा बेला–बेलामा सवारी साधन जाममा पर्ने गरेको छ ।-रासस/File Photo