काठमाडौं, असार २९ । सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा भएको प्रतिनिसभाको दोस्रो विघटनलाई असंवैधानिक ठहर गरेको छ। सर्वोच्चले दिएको यो ऐतिहासिक परमादेशले विशृंखलित हुन लागेको मुलुकको लोकतान्त्रिक प्रणालीलाई ठीक बाटोमा फर्काइदिएको छ।
प्रतिनिधिसभाले सरकारको विकल्प दिन सक्ने अवस्थासम्म यसलाई विघटन गर्न नसकिने प्रष्ट सन्देश फेरि एकपटक दिएको छ। विगतमा पटक–पटक संसद् विघटन गरी अस्थिरता सिर्जना गरेका कारण नेपालको संविधान २०७२ ले सरकार गठनका निम्ति विभिन्न विकल्प सुझाएको छ।
संविधानको धारा ७६ ले व्यवस्था गरेका यस्ता सरकारको अभ्यास हुन नदिइ प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक अभ्यास गर्दै आएका हुन्।
गत पुस ५ मा गरेको प्रतिनिधिसभा विघटनलाई फागुन ११ गते सर्वोच्चले पुनस् स्थापित गरेको थियो। त्यसपछि संसद्लाई काम गर्न दिनु ओलीको कर्तव्य हुन्थ्यो। आफूले गरेको सिफारिसलाई त्यतिबेला सर्वोच्चले प्रष्ट शब्दमा असंवैधानिक भनेको थियो। ओलीले फेरि जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर आफूलाई संविधान पालना गर्नुपर्ने कुनै बाध्यता नभएको सन्देश प्रवाह गर्न सफल भए।
उनको सफलतामा साथ दिने मुख्य जिम्मेवार भने राष्ट्रपति भण्डारी हुन्। संविधान पालकका रूपमा उनले भूमिका निर्वाह गर्नु भन्दा पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको आकांक्षामा मलजल गरिरहिन्। राष्ट्रपतिसमक्ष वैकल्पिक सरकारका निम्ति प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले १ सय ४६ जना सांसदको हस्ताक्षरसहित दाबी गर्दासमेत उनलाई नियुक्ति नदिइ आफूमा विशेषाधिकार भएको जस्तो सन्देश दिन पनि उनी अग्रसर भइन्।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दुवै जनाको असंवैधानिक अभ्यासका कारण हाम्रो लोकतन्त्र अभ्यासको केही वर्षमै धर्मराउन थालेको हो। एकपटक पुनस् स्थापित प्रतिनिधिसभालाई फेरि विघटन गर्ने अभ्यास संसारमा बिरलै भएको छ। भण्डारी र ओलीले संविधानको मनमौजी व्याख्या गर्ने र सत्ताबाट आफू हट्नै नपर्नेजस्तो व्यवहार गरेका कारण सर्वोच्चको परमादेश आवश्यक भएको हो।
सर्वोच्चले यस पटक दिएको आदेशले यसबीच देखिएका संवैधानिक अभ्यासका अन्योललाई चिर्ने काम गरेको छ। सर्वोच्च यसै पनि संविधानको व्याख्याता हो। उसले यो संविधानको सुसञ्चालन र अभ्यासका निम्ति महत्वपूर्ण आदेश दिएर लोकतन्त्र टिकाउन महत्वपूर्ण भूमिका खेलेको छ। नागरिक दैनिकबाट