बिहान ४ बजेदेखि राति साढे १० बजेसम्म अत्यन्त व्यस्त दिनचर्या छ, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णको । तर सीईओ कर्णलाई धपेडीको चिन्ता छैन । किनभने व्यस्तता नै उनको ‘ब्रान्ड’ भइसकेको छ । उनी कामको बोझ बोकेर होइन, टेबलको काम सकेर मात्र घर फर्कन्छन् । अफिसमा सतप्रतिशत समर्पित हुने उनको स्वभाव छ ।
त्यसैले त युनियन लाइफ इन्स्योरेन्स कम्पनीमा उनको चार वर्षे कार्यकाल असार ३१ मा सकिँदै छ भने चार वर्षे कार्यकाल थपिएको छ । बिमा क्षेत्रमा साढे दुई दशक बिताइसकेका सीईओ कर्ण युनियनको भरखरै खुलेको रुपैयाँको प्राथमिक सेयर निष्कासन (आईपीओ) मा परेका सर्वसाधारणको आवेदनका कारण निकै उत्साही देखिन्छन् ।
कोभिड–१९ को कहरबीच पनि कम्पनीको ६४ करोड ५० लाख कित्ता सेयरका लागि लाखौं आवेदन परेका छन् । जीवन बिमा थालेको चार वर्षमै पुराना कम्पनीलाई उछिन्न सफल युनियनले कर्णको नेतृत्वमा शानदार रूपमा व्यवसाय विस्तार गरिरहेको छ । नयाँ सञ्चालनमा आएका १० जीवन बिमा कम्पनीमध्ये युनियन लाइफको बजार हिस्सा २६.८४ प्रतिशत छ ।
“मलाई नम्बरमा उतिसारो चासो छैन । एक, दुई, तीन नम्बरभन्दा पनि जनतामा युनियनको राम्रो छाप परेको छ । टिम वर्कले युनियनलाई यहाँसम्म ल्याएको हो । आईपीओमा यति धेरै आवेदन पनि प्रगतिको सूचक हो,” उनी भन्छन्, “विगत खोतल्दा म जुन जुन जीवन र निर्जीवन कम्पनीमा गएँ, ती सबैजसो अब्बल कम्पनीमा दर्ज भएका छन् ।”
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं ४ को सामान्य परिवारमा २०२१ मा जन्मेका थिए, कर्ण । बुबा सरकारी जागिरे थिए । उनी मामाघरमा बसेर पढ्थे । उनका एउटा मामा माविका शिक्षक थिए र अर्का मामा सीडीओ । एसएलसी दिएलगत्तै जागिरे जीवन सुरु गरे । उनको पहिलो जागिर थियो, धादिङको कल्लेरीटारमा सिंचाइको सुपरभाइजर । विज्ञान र गणितको ट्युसन पढाउँदै उनले बीएस्सीसम्मको अध्ययन पूरा गरे । यसक्रममा घरबाट एक पैसा पनि लिएनन् । सानैदखि आफै काम गरेर अघि बढ्ने उनको सोच थियो ।
सुरुमा उनको इच्छा थियो, एमएस्सी गरेर कलेज पढाउने । त्यसैले उनी बीएस्सी गरेर काठमाडौं आए र स्कुलमा पढाउन थाले । उनीसँग एउटा पुरानो इन्डियन साइकल थियो । उनी त्यसमा चढेर घरघर गई ट्युसन पढाउँथे । यसबीचमा दिमाग ‘डाइभर्ट’ भयो । किनभने पढाउने कामबाट एकखाले सन्तुष्टि मिलिसकेको थियो । त्यसैले पढाउनुभन्दा कुनै ठाउँमा जागिर गर्नु राम्रो हो भन्ने भावना आयो । बिस्तारै उनमा इन्स्योरेन्स या बैंकमा करिअर बनाउने विचार सवार भयो ।
नभन्दै सन् १९९५ मा नेसनल लाइफ एन्ड जनरल इन्स्योरेन्स कम्पनी (अहिले नेसनल लाइफ इन्स्योरेन्स) मा कर्ण जुनियर असिस्टेन्सको काम पाएर झापाको बिर्तामोड गए । त्यहाँ उनले जीवन र निर्जीवन बिमा दुवै सिक्ने अवसर पाए । “मैले स्कुल र ट्युसनमा इन्जोय गरें । विद्यार्थी जीवनमा राजनीति गर्दा पनि इन्जोय नै गरेको थिएँ,” उनी भन्छन्, “पछि आएर इन्स्योरेन्समा पनि इन्जोय गरें । मलाई लाग्छ भने मेरो ब्लडमै इन्स्योरेन्स छ ।”
नेसनल लाइफमा २ वर्ष काम गरेपछि उनी काठमाडौं आए र युनाइटेड लाइफ इन्स्योरेन्समा अफिसर तहमा रहेर काम गरे । सन् २००१ देखि उनले लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल (एलआईसी) को ब्रान्च म्यानेजर भएर ७ वर्ष काम गरे । त्यसपछि एलाइन्स (हाल प्रभु) इन्स्योरेन्समा सिनियर म्यानेजर भएर ६ वर्ष बिताए ।
त्यतिबेलासम्म उनले व्यवस्थापन विषय पढेका थिएनन् । विज्ञानको पृष्ठभूमिका उनले लर्ड बुद्ध कलेजबाट सन् २०१० मा एमबीए गरे । इन्स्योरेन्स इन्स्टिच्युट अफ इन्डियाबाट लाइसेन्सियट र एसोसियट परीक्षा पनि दिए । एलाइन्स छाडेपछि कर्णले सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको डेपुटी महाप्रबन्धकको कार्यभार सम्हाले । झन्डै आधा दर्जन कम्पनीमा काम गरेपछि उनले स्थापनाकालदेखि नै युनियन इन्स्योरेन्सको सीईओ सम्हालेका हुन् ।
यसबीचमा धेरै मानिस उनको जीवनका आदर्श बने । बाल्यकालमा बुबा, काका, मामा नै उनका प्रेरणाका स्रोत थिए । इन्स्योरेन्समा प्रवेश गर्दा महाप्रबन्धक कमलजी सहाय उनका ‘रोलमोडल’ भए । सहायको कार्यशैलीले उनलाई सदैव उत्प्रेरित गरिरह्यो । उनी भारत फर्के पनि कर्णको सम्पर्कमै छन् र कुनै सहयोग आवश्यक पर्दा सहायलाई नै सम्झन्छन् । युनियनसम्म आइपुग्दा सुलभ अग्रवाल, बोर्ड डाइरेक्टर शेखर गोल्छा अनि बीमा समिति अध्यक्ष सूर्यप्रसाद सिलवालबाट निरन्तर प्रेरणा पाइरहेका छन् ।
जुनियर लेबल हुँदा पनि उनी ७-८ बजेसम्म अफिसमै बसेर काम गर्थे । हरेक वर्ष उनी पहिले अफिसमा लक्ष्मीपूजा गर्छन् अनि मात्र घरमा । कम्पनीकै कारण आफ्नो घरको लक्ष्मीपूजा राम्रो भएको उनलाई बोध हुन्छ । अफिसलाई उनी लक्ष्मीको मन्दिरका रुपमा पाउँछन् ।
“मेरो अफिसमा जति पनि स्टाफ छन्, तिनीहरु बिहानदेखि राति १० बजेसम्म काम गर्छन् । मैले यति बेलासम्म बस भन्नु पर्दैन,” उनी भन्छन्, “सबैको रगतमा यो कम्पनी मेरो हो, मेरो कम्पनी जति अगाडि बढ्छ, त्यति म अघि बढ्छु भन्ने भावना पाउँछु ।” युनियनसँग अहिले १० किसिमका प्रोडक्ट छन् । ‘मनी ब्याक होल लाइफ’ उनले नै डिजाइन गरेका हुन् ।
उतारचढाव, चुनौती र जोखिमहरूसँग किमार्थ डराउँदैनन् सीईओ कर्ण । त्यस अर्थमा उनलाई ‘रिस्क-टेकर’ भने पनि हुन्छ । जोखिम वा चुनौती लिन सक्षम व्यक्तिले नै जीवनमा उन्नति गर्न सक्ने उनको विश्वास छ । आफ्नो जीवनको हरेक चरणमा उनले यो सिद्धान्त प्रयोग गर्दै आएका छन् । “चुनौतीहरूको सामना गर्ने व्यक्तिले अधिक सिक्न सक्छ, जिम्मेवार भएर अगाडि बढ्न सक्छ,” उनी भन्छन्, “जति बढी चुनौती आउँछ, जिन्दगी त्यति नै रमाइलो हुन्छ ।”
करिअरको खोजीमा लागेका युवालाई व्यावसायिक क्षेत्रमा प्रवेश गर्नुभन्दा पहिले बुद्धिमतापूर्वक उचित विषय र क्षेत्र छनोट गर्न सल्लाह दिन्छन् कर्ण । उनले नेपाली बीमा क्षेत्रमा प्रशस्त अवसरहरू देखेका छन् । उनी भन्छन्, “बीमाले देशको अर्थतन्त्रमा मात्र योगदान पुर्याउँदैन,जनताको जीवनस्तर पनि बढाउँछ ।” फुर्सद भयो कि पुस्तक समाइहाल्छन् कर्ण । उनको सोख भनेकै पुस्तक पढ्नु हो । उत्सुक पाठक कर्णबिहान ४ बजे उठेर ६ बजेसम्म पुस्तक पढ्छन् । उनी सबैलाई भनिरहन्छन्, ‘हामी जति धेरै पढ्छौं, त्यति नै धेरै ज्ञान प्राप्त गर्छौं ।’
जेम्स अलेनले लेखेको ‘एज अ म्यान थिन्कथ’लाई उनी गीताज्ञानजस्तै मान्छन् । नेपोलियन हिलको ‘थिन्क एन्ड ग्रो रिच’, फ्रान्सिस मिराल्स र हेक्टर गार्सियाको ‘इकिगाईः द दजापनिज सेक्रेट टु अ लङ एन्ड ह्यापी लाइफ’, रोबिन शर्माको ‘अ मोङ्क हु सोल्ड हिज फेरारी’ र जोसेफ मर्फीको ‘द पावर अफ योर सबकन्सियस माइन्ड’ उनका प्रिय पुस्तक हुन् । उमेरमा उनी चेस, भलिबल, कबड्डी खेलेर रमाउँथे ।
बीमा सम्बन्धी चेतनाका लागि प्राथमिक तहदेखि नै बीमाको पाठ्यक्रममा राख्नुपर्ने उनको विचार छ । “यदि इच्छा छ भने बीमा सबैले गर्न सक्छन्,” उनी भन्छन्, “दैनिक रुपमा चिया, चुरोट, खैनी खाने खर्च जोगाएर बीमा गर्न सकिन्छ ।”
पत्नी, छोरा र छोरीसहितको सानो घरसंसार छ उनको । उनका आमाबुबा र दाजुभाउजू गाउँमै बस्छन् । उनले सन् १९९६ मा सुधा कर्णसित मागी विवाह गरे । इन्गेजमेन्ट (सिद्धान्त) गर्दा उनी गएका थिएनन् । केटी काका काकी भाउजूले हेरेका थिए । ग्य्राजुएसन गरेको केटी भनेपछि उनले ‘ओके’ गरिदिए । साँच्चै भन्ने हो भने बिहेको दिनमा मात्र केटी देखे उनले ।
उनका छोरा आदित्य भारतमा एमबीबीएस पढिरहेका छन् भने छोरी अदिती पाटन मेडिकल कलेजमा पढ्दै छिन् । पत्नी सुधा गृहिणी हुन् । उनी पहिले एलाइन्स इन्स्योरेन्समा काम गर्थिन् । एक साँझ उनी अलाइन्स इन्स्योरेन्स कम्पनीबाट ओरियन्टल कोलोनीको फस्ट फ्लोरमा रहेको फ्ल्याटमा फर्केका थिए । पत्नी इन्स्योरेन्स अफिसमै थिइन् । भारतीय दूतावासको केन्द्रीय विद्यालयमा एलकेजीमा पढ्ने छोरी घरको सिँढीमा बसेर बाबुआमालाई कुरिरहेकी थिइन् । सेन्ट जेभियर्समा पढ्ने छोरा घर आइसकेका थिएनन् । गेट बन्द थियो ।
त्यो दृश्य देखेर उनलाई साह्रै नमजा लाग्यो । उनलाई लाग्यो, यसरी त बच्चाको भविष्य बरबाद हुन्छ । त्यही रात उनले पत्नीको राजीनामापत्र तयार पारे । त्यसको फलस्वरुप दुवै बच्चाले शतप्रतिशत छात्रवृत्तिमा डाक्टरी पढे । उनलाई अहिले आएर लाग्छ, जागिरमा भन्दा ठूलो बचत भयो । वरदान भयो त्यो निर्णय ।
सफल बन्न चाहने युवालाई उनका टिप्स छन्ः
– एक काँधमा इमानदारी र अर्कोमा मिहिनेतलाई राख्नोस् । इमानदारी र मिहिनेतको हतियार लिएर अघि बढ्ने हो भने तपाईंले प्रगतिको शिखर चुम्न सक्नुहुन्छ । – जति तलब खानुहुन्छ, त्यसको पाँच गुणा बढी काम आत्मादेखि नै गर्नुस् । -कुनै संस्था आफैंमा खराब हुन्न । आफ्नो भविष्य आफैं बनाउने हो । – प्राथमिक विद्यालयको शिक्षक पनि कुनै दिन विश्वविद्यालयको प्राध्यापक हुन सक्छ । प्राथमिक विद्यालयको शिक्षकले हाई स्कुलको, हाई स्कुलको शिक्षकले कलेजको लेक्चर बन्ने अनि लेक्चरर बन्नेले रिडर र प्रोफेसर बन्ने अनि कुनै पनि कार्यालयको असिस्टेन्सले सीईओ बन्ने महत्त्वाकांक्षा राख्नोस् ।- तपाईंले पाँच, सात, दस वर्षमा आफू कहाँ पुग्छु भनेर ‘गोल बुक’मा लेख्नोस् ।