जनकपुर, ३१ असार । महोत्तरीमा गाडिएको अवस्थामा फेला परेकी सुजिता ठाकुरको देवर रुपेश ठाकुरले हत्या गरेको खुलेको छ । प्रहरीले अनुसन्धानका क्रममा देवर रुपेशले भित्तामा टाउको ठोक्काएर घाँटीमा मुक्काले हानेर हत्या गरेको खुलेको हो ।
हत्यापछि दिनभर शव लुकाएको र राति खेतमा लगी ७ फिट खनेर गाडेको बयानबाट खुलेको हो । २० जेठमै उनको हत्या भई राति गाडिएको थियो । खोजी तिव्र भएपछि सुजिताको शव निकालेर सेफ्टी टैंकीमा गाडिएको खुलेको थियो ।
शव व्यवस्थापनमा २९ वर्षीय रुपेशसहित ३७ वर्षीय किशोरी मण्डल, ३३ वर्षीय आदम रइन र ३२ वर्षीय नथुनी मण्डल संलग्न भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्यामा संलग्न भएको आशंकामा पक्राउ परेका सुजिताका पति मुकेश ठाकुर भने निर्दोश देखिएको प्रहरीले जनाएको छ । उनी सुस्तमनस्थितिको जस्तो देखिएको र हत्यामा संलग्न नरहेको भेटिएको उल्लेख छ ।
सुजिताका ससुरा पतिराम ठाकुर, सासु रामपति देवी ठाकुर र देवरानी प्रिया ठाकुर भने फरार छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
ठाकुर परिवारमा ससुरा पतिराम र देवर रुपेश बढी हावी देखिएको खुलेको छ । मुकेश भने शारीरिक अवस्थाका कारण परिवारमा कमजोर रहेको खुलेको छ ।
२० जेठ देखि वेपत्ता सुजिताको माइतीले प्रहरीमा उजुरी दिएका थिए । उनका बाबुआमाले छोरी हराएको भनी उजुरी दिएका थिए । त्यसपछि खोजीका क्रममा शव फेला परेको थियो ।
२७ वर्षीया सुजिता ठाकुरको १० वर्ष अघि पतिराम ठाकुरका जेठा छोरा मुकेश ठाकुरसँग विवाह भएको थियो । गत वर्ष उनलाई घरका सदस्यले कुटपिट गरेका थिए । घटना प्रहरीसम्म पुगेको थियो ।
सुजिता ठाकुरका ९ वर्षकी छोरी आँचल र ५ वर्षका छोरा रौनक छन् ।