काठमाडौं, ७ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान केपी शर्मा ओलीले आफुहरु फेरि सत्तामा आउने घोषणा गरेका छन् । उनले १९६० ताका अमेरिकी गायक बब डायलानको ‘वी श्याल ओभरकम समडे’ बोलको गीत स्मरण गर्दै आफूहरु पनि ओभरकम गर्ने बताए । आज (बिहीबार) पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवस मनाउने पार्टीद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले भने,‘सिक्सटीजमा अमेरिकी गायक बब डायलानको गीत थियो नि वी श्याल ओभरकम समडे, हामी पनि ओभरकम गर्छौं । वी श्याल ओभरकम नाउ, एण्ड नो बडी क्यान स्टप अस ।’ उनले आफू जनाताको आदेशबाट नभई अदालतको परमादेशबाट प्रधानमन्त्रीबाट हटेको स्पष्ट पारे । उनले भने,‘मेरो चिन्ता के हो भने सम्मानित अदालतको विश्वास जनजनको मनमा बढोस । जे गरेपनि मान्नैपर्छ भनियो भने विश्वास कायम रहन्छ कि रहँदैन, त्यो चिन्ताको विषय हो । संविधान जसले पनि पढ्न जान्दछ । कानून जसले पनि पढ्न जानेको छ । म चाहन्छु अदालतको गरिमा बढोस ।’
त्यस्तै, अध्यक्ष ओलीले माधव नेपाल पक्षलाई पनि साथै लिएर जाने संकेत गरे । उनले नेपाल पक्षलाई बाटो बिराएका नेताहरुको संज्ञा दिए । र, उनीहरुलाई आममाफी दिने घोषणासमेत गरेका छन् । सम्बोधनको क्रममा उनले भने,‘बाटो बिराएका, भड्किएका साथीहरुलाई पनि भन्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि सबैलाई एम्नेष्टि इज ग्रान्टेड । जे सुकै भएको होस् एम्नेष्टि । आउनुस् मिलेर काम गरौं ।’
ओलीले कांग्रेस पार्टी उहिल्यै काम लाग्दैन भनेर गणेशमान र किसुनजीहरुले भनेको र जीवनको उत्तरार्धमा गणेशमान र किसुनजी अलग भएको पनि स्मरण गराए । उनले भने,‘नेपाली कांग्रेस अब काम लाग्दैन् , यो स्वार्थ र अवसरवादको दलदलमा जाकियो भनेर गणेशमान र किसुनजीले पार्टी छोडेको अलग अलग समयमा घोषणा गर्नुपर्यो । नेपालको कम्युनिष्ट आन्दोलनभित्र पनि यस्ता दुःखद् पक्ष छन् । पुष्पलालले अघि सारेको विचारलाई हामीले यहाँसम्म ल्यायौं । वैचारिक हिसाबले धुकचुक मान्नुहुँदैन् । विचार बोकेर हिँडेको पार्टी यो हो । पुष्पलालले यो विचारलाई मूल बाटोमा ल्याउनुभयो । लोकतान्त्रिक गणतन्त्रको मागबारे पुष्पलालले दोस्रो महाधिवेशनमा यो कुरा उठाउनुभएको थियो । त्यो विचार बोक्ने संगठन, सुरुमा थिएन ।’
उनले पछिल्लो समय आफुहरुले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गरेको पनि दाबी गरेका छन् । उनले भने,‘यो आन्दोलन एउटा मूलधारको रुपमा आयो । आज एउटा फेरि एउटा प्रतिगमन भएको छ । नेपालको परराष्ट्र नीति, कृषि नीति, शिक्षा नीति, स्वास्थ्य नीति हामीले भनेको नीतिअनुसार देश चलेको छ । हामीले तयार पारेका मानकभन्दा पर जाने अवस्था छैन् । आजको नेकपा एमालेले अगाडिदेखि चलिरहेका खराब सिलसिलालाई अन्त्य गर्नेछ । अहिले केही नेताहरु पतनको बाटोमा गएका छन् । हामी आन्दोलनलाई सही विचारको साथ अघि बढाउँछौं । पुष्पलालको मार्गदर्शनमा चलाउँछौं । नयाँ आन्दोलनमा जाने हो, यसमा नयाँ कन्फ्युजन हुनुहुँदैन् ।’
उनले पुष्पलालले रोपेको विचारको विरुवालाई मर्न नदिने पनि घोषणा गरे । उनले भने,‘ओइल्याउन पनि दिनेछैंनौं । यो सानो तिनो हावाहुरीले ढालिहाल्दैन् । उहाँको विचारलाई मदन भणडारीले प्रवलीकरण गर्नुभयो । तलाहरु थपिएका छन् । जहाँ छन् नेपाली, त्यहाँ नेकपा एमाले पुग्छ । हामी आन्दोलनलाई मर्न दिन्नौं । यो आन्दोलन संघर्षको मैदानबाट गुज्रिएर आएको हो । यो आन्दोलन स्वार्थहरुको गठजोड होईन् ।’
उनले आफू नेतृत्वको सरकारलाई डेढ वर्षदेखि ढाल्ने ठोस प्रयास भएको भएपनि विरोधीहरुले ढाल्न नसकेको दाबीगरे । उनले थपे,‘वरतिरबाट परतिर सार्न नसकेपछि, परमादेशबाट हामी हट्यौं । जनादेशबाट होईन । अहिले जेसुकै भएपनि, जसो भएपनि एमाले प्रमुख पार्टी त हो नि त । संसदमा एमाले प्रमुख पार्टी हो । प्रतिनिधिसभा र राष्ट्रियसभामा सबभन्दा ठूलो दल नेकपा एमाले हो । प्रदेश नम्बर २ मा मात्रै हाम्रो संख्या अलिकति कम छ । यो देशकै प्रमुख राजनीतिक शक्ति एमाले हो । यो लोकतान्त्रिक आन्दोलनकै प्रमुख राजनीतिक धार हो । मार्गदर्शक हो । जनतालाई प्रशिक्षित गर्ने गुरु पार्टी हो । यसले नयाँ नयाँ विचार दिन्छ ।’