Logo

राजधानीकै बस्ती डुबानमा



काठमाडौं, साउन १० । आकाशे पानीको उचित निकास र ढलको व्यवस्थापन नहुँदा वर्षाको बेला उपत्यका डुबानमा पर्दै आइरहेको छ। यहाँका खोला साघुरिँदै गएपछि पानीको निकास हुन नसक्दा भित्री बस्ती नै डुबानमा पर्ने गरेको छ। शुक्रबार राति परेको वर्षाले उपत्यकाका भित्री बस्तीहरू डुबानमा परे। मैतीदेवी, बसुन्धारा, नयाँबजार, अनामनगर, बौद्धलगायत क्षेत्र डुबानमा परेका हुन्। मूलपानी मनोहरा खोलाछेउका बस्ती पनि डुबानमा परेका थिए।

आकाशे पानीले उचित निकास नपाउँदा वर्षाका बेला उपत्यकाका धेरै बस्ती डुबानको खतरामा छन्। ढल व्यवस्थापन राम्रो नभएका कारण वर्षाको पानीले काठमाडौं उपत्यकाका सहरी बस्ती नै जोखिममा परेको विज्ञहरूले बताउँदै आएका छन्। तर, सरकारी निकायले ढलको उचित व्यवस्थापन र खोला क्षेत्रका बस्ती स्थानान्तरणमा चासो दिएको छैन। वर्षाको पानी निकास नहुँदा बस्ती डुबानमा पर्ने गरेको अनामनगरका गोपाल न्यौपानेले बताए। सहरी क्षेत्रमा खाली ठाउँ रित्तिँदै जाँदा र ढलको पनि राम्रो व्यवस्थापन नहुँदा धेरै बस्ती डुब्ने खतरामा रहेको उनको भनाइ छ।

‘भित्री बस्तीको पानी निकास हुने ठाउँ छैन, घरैघर भएपछि जमिनले पनि पानी सोस्न पाएन, त्यसैले उपत्यकाका धेरै ठाउँ डुबान र बाढीको जोखिममा छन्,’ उनले भने। उपत्यकाका केही बस्ती डुबानमा पर्नुको कारण खोलाको बहाव क्षेत्र साँघुरो पार्नु हो। खोलामा क्षेत्र मिचेर बस्ती बसाल्दा बस्ती नै डुब्ने गरेको छ। सुकुमबासी बस्ती स्थानान्तरण गर्न नसक्दा वाग्मती नदीले निकास पाउन सकेको छैन। त्यस्तै, जडीबुटी क्षेत्रमा पनि खोलाआसपासमा टहरा निर्माण गरेर बस्ती बसेकाले वर्षात्का बेला डुबान हुने गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot