काठमाडौं, ११ साउन । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले पाल्पा पुगेर पार्टीको विवाद १० दिनमा वार कि पार हुने खुलासा गरेका छन् । उनले वरिष्ठ नेता माधवकुमार नेपाललाई पर्खेर नबस्ने समेत बताएर एमालेको राजनीति निर्णायक मोडमा पुगेको संकेत गरेका छन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले माफी मागेर आएमा माधव नेपाललाई स्वागत गर्ने बताइसकेका छन् । तर, नेपालले ओलीले गल्ती गरेकाले उल्टै माफी माग्नुपर्ने बताएका छन् । यसबाट अब एमाले नमिल्ने निश्चितप्रायः भएको छ । सम्भवत यसै हप्ता एमाले विवादको टुंगो लागिसक्ने गरी कदम चाल्ने तयारीमा ओली पक्ष देखिन्छ ।
माधव नेपालको पूर्ण साथ छाडेर तटस्थ भूमिकामा रहेकाहरुलाई ओलीले महत्वपूर्ण जिम्मेवारी दिएर साथमा लिने रणनीति बनाइसकेका छन् । उपाध्यक्ष भीम रावलले एमालेमा विशेष जिम्मेवारी पाउन सक्ने बुझिएको छ । माधव नेपाललाई छाडेर उनी पक्षका हस्तीहरुलाई तान्ने गरी ओली लागेका छन् ।
रावलसहित सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्यलाई विशेष जिम्मेवारीको प्रस्ताव पुगेको बुझिएको छ । रावलले पनि नेपाललाई साथ नदिने संकेत गरिसकेका छन् । उनलाई सार्वजनिक रुपमै नेपालले व्यङ्ग्य गरिसकेका छन् । प्रचण्डले पनि रावललाई कडा प्रहार हुनेगरी अभिव्यक्ति दिएका छन् । रावल ओली पक्षमा पुगिसकेको संकेतका रुपमा यसलाई बुझिएको छ ।
रावल ओली पक्षमा पुगेपछि बामदेव गौतम भने माधव नेपाल पक्षमा देखिएका छन् । गौतमलाई पनि पेल्ने ओलीको रणनीति देखिएको छ । नेपाल र गौतमलाई छाडेर ओलीले भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र योगेश भट्टराईलगायतलाई स्थान दिन लागेका छन् ।
माधव नेपालले भने रावलसहितका नेताहरु नआएपछि बामदेव गौतमको सहयोगमा ३० भन्दा बढी सांसद आफ्नो पक्षमा आउनेमा ढुक्क छन् । उनी त्यस अनुसार बाटो बनाउन लागिपरेका छन् । सम्भवतः यसै हप्ता एमाले विवादको टुंगोको चित्र स्पष्ट हुन सक्छ ।