काठमाडौं, १२ साउन । नेपाली कांग्रेसको क्रियाशील छानबिन समितिले आज पार्टी नेतृत्वलाई प्रतिवेदन बुझाउँदैछ् । यसको लागि समितिका सदस्यहरु पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न पुगिसकेका छन् । समितिमा रहेका एक सदस्यका अनुसार समितिको प्रतिवेदनमा ८ लाख ५२ हजार ७ सय ११ सदस्यको नाम सिफारिस गरिएको छ ।
प्रतिवेदनमा भनिएको छ,‘पार्टीको १४औं, महाधिवेशनको प्रयोजनका लागि देशभरबाट जम्मा कुल ८ लाख ५२ हजार ७ सय ११ सदस्यहरुलाई पार्टीको क्रियाशील सदस्यता प्रदान गरिएको छ । जसमध्ये ४ लाख ९ हजार ३३ जनाको सदस्यता नविकरण गरिएको छ भने जम्मा ४ लाख ४३ हजार ६ सय ७८ जनालाई नयाँ क्रियाशील सदस्यता प्रदान गरिएको छ । क्रियाशिल सदस्यताको नयाँ र नविकरण तर्फको प्रदेश,जिल्ला र क्षेत्र अनुसारको छुट्टाछुट्टै संख्या, आठ वटा समावेशी समूहका क्रियाशिल सदस्यको छुट्टाछुट्ट संख्या, विभिन्न उमेर समूहको क्रियाशिल सदस्यता संख्याको विस्तृत विवरण संलग्न गरिएको छ ।