Logo

एकताका लागि नेपालको सर्त



काठमाडौं, साउन १३। प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्।

पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको भन्दै दोस्रो पुस्ताका नेताहरूले एकताका लागि दबाब बढाएपछि उनले आफूभन्दा खनाललाई दोस्रो अध्यक्ष बनाउनुपर्ने सर्त अघि सारेका हुन्। उनले नयाँ पुस्ताका कुनै नेतालाई यो जिम्मेवारी दिए पनि मान्य हुने बताएका छन्। ‘मैले केपीको भनाइ बुझिसकेको छु,’ नेपाललाई उद्धृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘उनी दिन तयार छन् भने जेएन कमरेड वा तपाईंहरू दोस्रो पुस्तामध्येबाट कोही अध्यक्ष भए पनि मलाई मान्य छ।’

खासगरी दोस्रो पुस्ताका नेताहरूले ओलीसँग मिल्न निरन्तर आग्रह गरेपछि नेपालले आफूलाई दोस्रो अध्यक्ष नचाहिने र ओलीले दिन्छन् भन्ने विश्वास पनि नभएको बताएका हुन्। दोस्रो पुस्ताका नेताहरूले ओलीले कागज गरेरै दोस्रो अध्यक्ष दिने बताए पनि नेपाल पत्याउन तयार भएका छैनन्।

एमाले महाधिवेशन २०७१ असारमा सम्पन्न भएको हिसाबले पनि सात वर्ष पुगिसकेको छ। विगतमा पाँच–पाँच वर्षमा महाधिवेशन हुने गरेकोमा अहिले दुई वर्ष कटिसकेको हुँदा ओली अध्यक्ष बनिरहन नसुहाउनेसमेत नेपालले बताउँदै आएका छन्। एमाले विधानमा ७० वर्ष उमेर पुगेका नेताले दलबाट अवकाश लिनुपर्ने प्रावधान छ। यस हिसाबले पनि ओली अध्यक्षको जिम्मेवारीबाट अलग्गिनुपर्ने आवाज उठ्दै आएको छ। विधानको उक्त प्रावधान ओलीले आफूलाई अनुकूल हुनेगरी संशोधन गराए पनि नेपाल पक्षले आफ्नो संलग्नताबेगर भएको संशोधन अस्वीकार गरेको छ। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्