काठमाडौं, १४ साउन । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीम बहादुर रावलले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालकै सहमतिमा कार्यदल बनेको र सहमतिको दश बुँदे प्रतिवेदन तयार भएको स्पष्ट पारेका छन् । उनले उक्त १० बुँदे प्रस्तावलाई अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आत्मसात् गर्नेमा आफू विश्वस्त रहेको सुनाए ।
हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले वरिष्ठ नेता माधव नेपालले सरकारमा आफ्नो समूहपनि पठाउने भनेर कुनै गृहकार्य नगरेको पनि दाबी गरे ।
उनले आफूलाई माधव नेपालले सरकारमा नेपाल समूहको नेतृत्व गरेर जान भनेर कुनै आग्रह नगरेको जिकिर गरे । गोकर्ण विष्ट पनि सरकारमा जाने कुरा हल्लामात्रै भएको उनको भनाई छ । उनले आफूहरु सुरुदेखि नै विधि र प्रक्रियामा विश्वास गर्ने भएकोले गलत हल्लाको पछि लाग्न नहुने तर्क गरे ।