काठमाडौं, २४ साउन । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीपहिरोबाट भएको क्षतिको बारेमा एक प्रतिनिधि मण्डलले नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ध्यानाकर्षण गराएको छ ।
सिन्धुपाल्चोक जिल्लाका सबै दलहरुका प्रतिनिधि सम्मिलित उक्त सर्वदलीय मण्डलले बाढीपहिरोमा भएको क्षति र तत्कालका लागि आवश्यक पूर्वाधारका बारेमा अध्यक्ष प्रचण्डलाई ध्यानाकर्षण गराएको थियो । अध्यक्ष प्रचण्डले आफू र आफ्नो पार्टीको तर्फबाट तत्परता र गम्भीरताका साथ प्रतिनिधि मण्डलले उठाएका विषयमा छलफल अगाडि बढाउने बताएको उनको सचिवालयले जनाएको छ । अध्यक्षले मेलम्ची र हेलम्बुका बाढी पीडितका समस्या समाधानका लागि सरकारलाई घच्घचाउने विश्वास पनि दिलाए।
अध्यक्ष दाहालले भने,‘देशमा बढेको प्राकृतिक प्रकोपहरुको सम्बन्ध विश्वव्यापी रुपमा विकासको मोडलमा खोज्नु पर्ने भएको छ । हामीले पनि आफ्नो आन्तरिक अध्ययन र त्यसअनुसारको व्यवस्थापन गर्न जरुरी छ । तर यो समस्या हाम्रो मात्रै होइन ।’
विश्वव्यापी समस्याका रुपमा देखापरेको बाढीपहिरो, आँधी लगायतका प्राकृतिक समस्याहरुको कारण खोज्नु पर्ने उनको धारणा थियो । अध्यक्षले भने, ‘हिमालयको काखमा रहेको नेपालमा बढ्दै गइरहेका यसप्रकारका प्राकृतिक प्रकोपका कुराहरु विश्वका फोरमहरुमा पनि उठाउन जरुरी छ ।’
नेपालमा भैरहेका प्राकृतिक विपत्तिमा नेपाल देशको मात्रै समस्या नभएको भन्दै यसका लागि अन्तर्राष्ट्रिय क्षेत्रको ध्यानाकर्षण गराउने र साधनस्रोत जुटाउने कुरा पनि धेरै महत्वपूर्ण रहेको उनको भनाई थियो ।