Logo

कोल्टो फेर्दै गोलबजार नगरपालिका



लहान, २४ साउन : सिरहाको गोलबजार नगरपालिकाले छोटो समयमै विकास पूर्वाधारमा फड्को मारेको छ ।

बढ्दो अतिक्रमण र अव्यवस्थित बजारका कारण विगतमा कुरुप बन्दै गएका नगरक्षेत्रमा यतिबेला परिवर्तनको आभास हुन थालेको छ । नगरपालिकाले सडक पूर्वाधारको विकास, बिस्तारसँगै व्यवस्थित बजार निर्माणलाई प्राथमिकता दिएर काम अघि बढाएपछि नगरक्षेत्रको स्वरुप फेरिन लागेको हो । ग्रामीण क्षेत्रलाई शहरसम्म जोड्ने सडकलाई कालोपत्र र ढलान गरी सडक पक्की बनाउने योजनालाई नगरपालिकाले प्राथमिकता दिएको छ ।

नगरपालिकाले गत आव ०७६-०७७ देखि सडकलाई पक्की र कालोपत्र गर्ने योजनालाई प्रभावकारी रुपमा कार्यान्वयन गरिरहेको छ । सडक सञ्जाल निर्माण गरेर ग्रामीण क्षेत्रबाट शहरसम्म पुग्न घण्टौँ लाग्ने नगरवासीको समस्यालाई दीर्घकालीन समाधानमा ध्यान दिएको छ । आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र र पक्की बनाउने योजनालाई प्राथमिकता दिएको गोलबजार नगर प्रमुख देवनाथ साहले जानकारी दिए ।

हालसम्म नगरक्षेत्रका करिब २६ किलोमिटर सडकमा कालोपत्र र १४ किमी आरसिसी ढलान सकिएको नगरपालिकाले जनाएको छ । यस्तै नगरपपालिकाको विभिन्न वडाका २०० किमी सडकमा ग्राभेल सकिएको छ ।

“चुनावका समयमा जनतासँग गरेको वाचाअनुरुप ग्रामीण क्षेत्रबाट बजारसम्म पुग्ने सडक कालोपत्र गर्ने कामलाई प्राथमिकता दिएका छौँ”, उनले भने, “नगरक्षेत्रका अधिकांश सडकलाई ढलान गरी पक्की बनाउने काम गरिरहेका छौँ ।” यसका साथै बजार क्षेत्र र बाक्लो बस्ती भएको ठाउँमा नाला निर्माणको कामलाई समेत प्राथमिकता दिएको उनको भनाइ छ ।

सडक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, पर्यटन र रोजगारीलाई समेत उच्च प्राथमिकतामा राखेर योजना अघि बढाएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीधर केसीले जानकारी दिए । उनका अनुसार आव ०७७-०७८ मा मात्र नगरपालिकाले छ किलोमिटर सडकमा नयाँ ट्रयाक खोलिएको छ । यसका साथै नगरक्षेत्रभित्रका प्रमुख पर्यटकीय क्षेत्र कुम्भी खाँडी तालको शिव गुफा निर्माणको कामलाई प्राथमकिता दिएको छ ।

विगतमा पुल नहुँदा शहरसम्म आउन जोखिम भोग्दै आएका वडा नम्बर १ मुक्सार र वडा नं १० अरमपुरमा झोलुङ्गे पुलसमेत निर्माण गरिएको उनले जानकारी दिए । विद्यालय सुधार गरी शैक्षिक गुणस्तरीयता ल्याउन नगरपालिकाका विभिन्न वडामा रहेका छ विद्यालयमा कक्षा कोठा निर्माणसँगै शैक्षिक गतिविधि बढाउन अन्य भौतिक पूर्वाधार उपलब्ध गराएको जनाएको छ ।

कूल १३ वडामा फैलिएको नगरपालिका ४७ हजार ७६३ जनसङ्ख्या छ । नगरपालिकाले जनघनत्व र आवश्यकताका आधारमा १३ वटै वडामा समानुपातिक बजेट उपलब्ध गराउँदै आएको छ ।

बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना गर्न नगरस्तरीय र वडास्तरीय बजेटबाट विभिन्न सिपमूलक तालिम वर्षेनी सञ्चालन गर्दै आएको नगरपालिकाले जनाएको छ । यसरी स्थानीय तहले सडक सञ्जाल बिस्तारसँगै सडक कालोपत्र तथा ढलानलगायतका ठोस योजनालाई प्राथमिकतामा राखेर काम अघि बढाएपछि स्थानीयसमेत उत्साहित बनेका छन् ।

पछिल्लो एक वर्षदेखि कालोपत्र तथा ढलानलाई प्राथमिकता दिएकाले छिट्टै नगरक्षेत्रको विकासका गतिविधिले तीव्रता लिएको गोलबजार– ५ का श्रवण महतोले बताए । “बिगतमा सडकमा माटो र ग्राभेल हालेर बजेट सकिदै आएको थियो”, उनले भने,“ अहिले नगरपालिकाले सडकलाई कालोपत्र र ढलानलाई अघि बढाएकाले सडक हिलो र धुलोमुक्त हुँदै गएको छ ।” यसबाट वर्षेनी माटो र ग्राभेलका नाममा भ्रष्टाचार गर्ने गरेको आरोपबाट समेत जनप्रतिनिधि केही हदसम्म मुक्त हुने उनको कथन छ ।-रासस/File Photo



प्रतिक्रिया दिनुहोस्