Logo

एमाले एकताको लागि भीम रावल सक्रिय, राष्ट्रपति भण्डारी र अध्यक्ष ओलीसँग भेटवार्ता



काठमाडौं, २४ साउन । नेकपा (एमाले) को एकता जोगाउनको लागि पछिल्लो समय उपाध्यक्ष डा. भीम बहादुर रावल सक्रिय भएका छन् । रावल वरिष्ठ नेता माधव कुमार नेपालनिकट नेता हुन् । तर, उनी अहिले अध्यक्ष केपी शर्मा ओलीसँग नजिकिएका छन् । यसअघि माधव नेपाल समूहबाट कार्यदलको संयोजकको भूमिकामा रहेर काम गरेका रावल पछिल्लो समय अध्यक्ष ओलीप्रति एकाएक नरम सुनिन्छन् ।

पहिलो प्रतिनिधिसभा विघटनदेखि दोस्रो पटकको संसद् विघटनसम्म उनी ओलीको खरो आलोचनामा उत्रिए । तर, संसद् पूनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्च अदालतले परमादेश दिएपछि भने रावल ओलीसँग नजिकिएका हुन् । नेपाल समूहका केन्द्रीय सस्यहरुले त रावलको भूमिकालाई लिएर आलोचना नै गरेका छन् । उनीहरुले रावलले नेता नेपालको प्रतिनिधि भएर वार्तामा बसेपनि ओलीको पक्षमा काम गरेको आरोप लगाएका थिए । रावल सम्मिलित एमालेको कार्यदलले पार्टी एकताको लागि १० बुँदे प्रतिवेदन समेत तयार पारेको छ ।

नेताहरुले एकताको आधार नै उक्त प्रतिवेदन हुने टिप्पणी गरिरहेका छन् । तर, वरिष्ठ नेता नेपाल भने संसद् विघटन गर्नु गल्ती थियो भनेर ओलीले माफी माग्नुपर्ने अडानमा छन् । त्यस्तै, पार्टीमा सम्माजनक हैसियत पनि नेपाल पक्षको अर्को शर्त छ । यही साउन २१ र २२ गते काठमाडौंमा बसेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा समेत सम्माजनक एकताको लागि मात्रै पहल गर्न केन्द्रीय सदस्यहरुले नेतृत्वलाई जोड गरेका छन् ।

अन्यथा अहिलेकै अवस्थामा एकता गर्न नसकिने उनीहरुको भनाई थियो । कतिपय नेताले त ओलीले अध्यक्ष पद छोड्नुपर्नेसम्मको शर्त राखेका छन् । नेपाल पक्षले आजसम्मको डेडलाईन दिएको छ । यही सन्दर्भमा नेता रावलले एकताको लागि आफूलाई सक्रिय बनाएका छन् । रावलले हिजोमात्रै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका थिए । र, आज विहान अध्यक्ष ओलीसँग पनि भेटवार्ता गरेका छन् । राष्ट्रपति भण्डारीसँग रावलको दुई घण्टा लामो छलफल भएको बताईएको छ । एमाले विवादमा राष्ट्रपति भण्डारीले पनि चासो लिएको बुझिएको छ । File Photo/ReportersNepal



प्रतिक्रिया दिनुहोस्