Logo

पहिला खोप, अनि मात्र पर्यटन पूर्वाधारमा ध्यानः व्यवसायी



काठमाडौं, साउन २५ । सरकारले खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने नीति सार्वजनिक गरेको छ। तर पर्यटन सम्बद्ध व्यवसायीले भने खोप सुनिश्चित गर्न माग गरिरहेका छन्।सरकारको न्यूनतम साझा कार्यक्रमले पर्यटन पूर्वाधारमा जोड दिने बताए पनि अहिले पर्यटन क्षेत्रको आधारभूत समस्या कोरोनाविरुद्वको खोप भएको व्यवसायीको भनाइ छ। खोपको व्यवस्था भए विदेशी नागरिकलाई नेपाल सुरक्षित भएको महसुस गराउन सकिने जनाउँदै व्यवसायीले आश्वासनभन्दा व्यवहारिक पक्ष हेर्न सरकारलाई आग्रह गरेका छन्।

कोरोनाले सबैभन्दा बढी पर्यटन क्षेत्रमा प्रभाव पारेको भन्दै व्यवसायीले न्यूनतम साझा कार्यक्रमले पर्यटन क्षेत्रलाई कसरी चलायमान बनाउने भन्नेमा ठोस योजना ल्याउन नसकेको गुनासो गरेका छन्। कारोनाले पारेको प्रभाव कम गर्न सरकारले राहत र सहुलियतका कार्यक्रम नल्याउँदा पर्यटन क्षेत्रलाई सरकारले उपेक्षा गरेको अनुभूति भएको व्यवसायीको गुनासो छ। कोरोना महामारीका कारण सन् २०२० मा ठूलो क्षति बेहोरेको पर्यटन क्षेत्रलाई अझै खोप सुनिश्चित नभएको जनाउँदै व्यवसायीले समस्यालाई गम्भीरताका साथ लिन आग्रह गरेका छन्।

पछिल्लो समय हिमाली पर्यटन क्षेत्रमा केही आशा देखिए पनि पर्यटन मजदुरलाई खोपको व्यवस्था नहुँदा पुनः पोहोर कै गति हुने देखिएको व्यवसायीको भनाइ छ। गत वर्ष आरोहण क्षेत्रले नसोचेको क्षति भोगे पनि यो वर्षको बसन्त सिजनमा नेपाल आउन चाहने विदेशी आरोहीको संख्या हेर्दा केही आशा पलाएको थियो। तर सरकार गैरजिम्मेवार बन्दा आगामी सिजनमा समेत आरोहण चलायमान हुन नसक्ने व्यवसायीको आकलन छ। सरकारको आगामी सिजनलाई ध्यानमा राखेर पर्यटन व्यवसायी र मजदुरलाई खोपमा प्राथमिकता दिनुपर्नेमा कानमा तेल हालेर बसेको उनीहरूको भनाइ छ।

पछिल्लो समय नेपाल पर्वतारोहण संघ, ट्रेकिङ एजेन्सी एसोसियसन अफ नेपाल, होटल एसोसियसन अफ नेपाल लगायत संस्थाले पर्यटन क्षेत्रलाई चलायमान बनाउन खोपलाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका छन्। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्