Logo

ओली, नेपाल, खनाल र गौतमबीच यो कुरामा एकमत



काठमाडौं, २५ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल एक अर्कालाई पाखा लगाउन सक्रिय छन् । ओली नेपाललाई पार्टीमा स्थान नदिने अडानमा छन् । नेपाल पनि ओलीलाई पार्टी अध्यक्षबाट हटाएपछि मात्र एकता सम्भव रहेको अडानमा छन् । एक अर्काविरुद्ध लागेका यी नेताहरुबीच एउटा कुरामा भने सहमति छ ।

एमालेको नवौं महाधिवेशनले पार्टीको सल्लाहकार कमिटीबाहेकको कमिटीमा ७० वर्षे हदबन्दी तोकेको छ । पार्टी विधानमै रहेको यो बुँदा ओली र नेपालका लागि मात्र नभई ७० कटेका अरु प्रभावशाली नेताहरुलाई समेत पिरोलेको छ । विधान अनुसार हुने हो भने केपी शर्मा ओली अध्यक्ष रहने छैनन् । उनी ७० वर्ष कटेका छन् ।

एमाले वरिष्ठ नेता झलनाथ खनाल ७१ वर्ष कटेका छन् । उनी पनि विधान अनुसार पदमा रहने छैनन् । एमालेका अर्का वरिष्ठ नेता माधवकुमार नेपाल ७० को नजिक छन् । विधान अनुसार उनी ६ महिना मात्र पार्टी कमिटीको जिम्मेवार पदमा रहन पाउनेछन् ।

७० वर्ष कटिसकेका वामदेव गौतम पनि उपाध्यक्ष रहने छैनन् । उनी ७५ वर्ष कटिसकेका छन् । एमाले र माओवादी केन्द्रबीच एकता नभएको भए गौतम राजनीतिबाट सन्यास लिनुपर्ने अवस्थामा पुगिसकेका थिए ।

अमृतकुमार बोहरा ७२ वर्ष पुगिसकेका छन् । मुकुन्द न्यौपाने ७१ वर्ष पुगेका छन् । दुवै नेताहरु सल्लाहकार कमिटीमा मात्र रहन पाउनेछन् ।

६८ वर्ष पुगेका इृश्वर पोखरेल र केशव बडालका लागि एमाले विधान अनुसार २ वर्ष मात्र कार्यकारिणी कमिटीमा रहन पाउने समय छ । अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, युवराज ज्ञवाली र बेदुराम भुसाल ६७ वर्ष पुगेका छन् । भीम रावल ६४ वर्ष पुगेका छन् भने सुरेन्द्र पाण्डे ६२ वर्ष पुगेका छन् । एमालेको विधान अनुसार उमेर हद लागू भए उनीहरुसँग पनि पार्टी कमिटीमा रहने समय धेरै बाँकी छैन ।

विगतमा एमालेका पाका नेताहरुलाई राजनीतिबाट सन्यास लिने अवस्था निर्माणका लागि ७० वर्षे उमेर हद विधानमै राखिएको थियो । यो निर्णयले मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारी, सिद्धिलाल सिंहलगायत पाका नेताहरु सल्लाहकारमा सिमित भएका थिए । तर, नेतृत्वमा पुगेका नेताहरु ७० वर्ष कटेपछि विधान संशोधनमा लागेका छन् । विगतमा एमाले र माओवादीबीचको एकताले ७० कट्न लागेका र कटेकालाई राहत दिएको थियो । तर, एमाले ब्युँतिएपछि उनीहरु समस्यामा परको छन् ।

७० वर्षे उमेर हद हटाउने पहल

नेकपा एमालेको विधानमा रहेको ७० वर्षे हदबन्दी हटाउने पहल सुरु भइसकेको छ । अध्यक्ष केपी शर्मा ओली स्वयं हटाउने पक्षमा छन् । वरिष्ठ नेता माधवकुमार नेपाल अहिले नै राजनीतिबाट सन्यास लिने पक्षमा छैनन् । झलनाथ खनाल देखि बामदेव गौतमहरुको चाहना पनि राजनीतिमा सक्रिय भइरहेने नै छ ।

एमालेमा पाका पहिलो पुस्ताका नेताहरु जति दन्तबजान र विवादमा सक्रिय भएपनि उमेर हद हटाउनेमा भने एकमत छन् । त्यो उनीहरुको राजनीतिक भविष्यसँग जोडिएको विषय छ । एमालेको दोस्रो पुस्ताका नेताहरुले विधान अनुसार हुनुपर्ने भन्न सकेका छैनन् ।

ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङलगायत नेताहरु ओलीको साथमा छन् । उनीहरु ओलीलाई चिढ्याउने गरी उमेरहद कार्यान्वयनबारे बोल्न सकेका छैनन् । भीम रावल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, घनश्याम भुसाललगायत नेताहरुको पनि बोली बन्द छ । भविष्यमा यो विधानले आफैलाई पिरोल्ने उनीहरुको चिन्ता छ ।

दोस्रो पुस्ताका नेताहरु ओली र नेपालबीचको द्वन्द्व मिलाउने मात्र कुरा गरिरहेका छन् । उनीहरु एमालेको विधान अनुसार हुनुपर्ने भन्न समेत सकेका छैनन् । दोस्रो पुस्तामा एमालेको नेतृत्व अझ धेरै समय टाढा रहेको देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस्