काठमाडौं, २५ साउन । नेकपा एमाले स्थायी कमिटी बैठकमा उपाध्यक्ष बामदेव गौतमले अध्यक्ष केपी शर्मा ओलीलाई उनकै सामुन्न चर्को आलोचना गरे । बैठकमा गौतमबाहेक सबै ओली पक्षकै नेताहरु थिए । उनीहरु ओलीसामु खुलेर बोल्न नसक्नेमै गनिन्थे । तर, गौतमले खुलेर ओलीको आलोचना गर्दै अनुशासनको कारबाहीको विषय उठाए ।
माधव नेपाललाई देशद्रोही, अपराधी र गद्दार भनेकोमा गौतमले ओलीको चर्को आलोचना गरे । जे मनमा आयो त्यही बोल्ने र जे मनलाग्यो त्यही गरेको भन्दै ओलीमाथि अनुशासनको कारबाहीको विषय उठाए । गौतमले चर्को आलोचना गरेपछि ओली पनि आक्रोशित भए । दुवैबीच चर्काचर्की भएपछि बैठकमा सन्नाटा छायो ।
ओलीप्रति असन्तुष्ट गौतम बैठक नसकिदै उठेर हिंडे । उनले स्थायी कमिटीमा अन्तिम बैठक हुनसक्ने भन्दै उठेर निस्किए । उनले केन्द्रीय कमिटी बैठकमा पनि सहभागिता जनाएनन् ।
गौतम ओलीको कदमप्रति असन्तुष्ट छन् । पार्टी एकताभन्दा विधान संशोधन र सांगठनिक संरचनामा व्यापक हेरफेरमा लागेकोमा असन्तुष्ट भए ।
एमालेको नवौं महाधिवेशनमा गौतमकै साथ पाएर ओली अध्यक्षमा निर्वाचित भएका थिए । तर, आमनिर्वाचनमा आफूलाई हराएको भन्दै ओलीसँग असन्तुष्ट थिए । दुई नेताबीच पछि सहमति बनेको थियो ।
तर, तत्कालीन नेकपा विभाजन हुँदा गौतम ओलीसँग असन्तुष्ट भए । उनले पटक पटक नेकपा एकताको प्रयास गरे । तर, सफल भएनन् । एकता अभियान पनि चलाए ।
पछिल्लो समय गौतम माधव नेपालसँग नजिक छन् । उनी शेरबहादुर देउवालाई विश्वासको मत दिने पक्षमा उभिएका थिए । सार्वजनिक रुपमै पक्षमा बोलेका थिए । उनको कार्यशैलीप्रति ओली असन्तुष्ट छन् ।