Logo

केपी ओलीसँग काम गर्दा मलाई कम्फर्टेबल फिल हुन्छ : कमल थापा (भिडिओसहित)



काठमाडौं, २५ साउन । राप्रपाका अध्यक्ष कमल थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विद्यमान अहिलेको राजनीतिक संकटको समाधान गर्न नसक्ने ठोकुवा गरेका छन् । उनले भने-“उहाँले अहिलेको देशलाई निकास दिन सक्नुहुन्न, त्यसमा पनि अहिले यो सरकार जसरी बनेको छ, यो एक प्रकारले अपवित्र गठबन्धन हो । पूर्व र पश्चिम जान हिँडेका दुई शक्तिहरुको बीचको गठबन्धन हो । यो गठबन्धन निर्माण गर्नको लागि दुई वटा प्रमुख पार्टीहरुलाई फुटाईएको छ । सांसद तानातान र किनबेच भएको छ । यस्तो अपवित्र गठबन्धनले देशमा शान्ति, समृद्धि र स्थायित्व दिन सक्दैन् । यो सरकारले समयमै चुनाव सम्पन्न गर्न सक्यो भने यो नै ठूलो कुरा हुन्छ ।”

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले आफूले देउवासँग मिलेर काम गरेको भन्दै सफलताको शुभकामना दिए । तर, उनले कांग्रेसले बाटो बिराएको पनि टिप्पणी गरे ।

कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन चुनावसम्म जान्छ कि जाँदैन भन्ने विषयमा आशंका रहेको थापाको भनाई छ । उनले आफूलाई नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग काम गर्दा कम्फर्टेबल फिल हुने पनि स्पष्ट पारे ।

विगतमा आफूहरुले कांग्रेससँग सहकार्य गरेको र आफूहरुको सहयोगमा कांग्रेसले कयौं ठाउँमा चुनाव जितेको तर आफूहरुले नजितेको पनि थापाले स्मरण गराए । उनले कांग्रेसमा केन्द्रदेखि वडा तहसम्म विभाजन रहेकोले आफूपनि पराजित भएको र त्यसको भुक्तभोगी रहेको सुनाए । तर, एमालेसँग झापामा एक क्षेत्रमा मात्रै सहकार्य गरेको र त्यहाँ चुनाव जितेको पनि उनले जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस्