काठमाडौं, २७ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दुवै पक्षका जिल्ला सभापतिहरुको भेला बसेको छ । दुवै पक्षले आफ्नो समूहलाई बलियो बनाउनेगरि रणनीति तय गर्न सभापतिहरुको भेला आयोजना गरेको हो । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँगको कुराकानीमा नुवाकोट जिल्लाका सभापति जगदिशनरसिंह केसी, दोलखाका सभापति रुद्रबहादुर खड्का र डेढेलधुराका सभापति कर्णबहादुर मल्लले आफूहरुले आन्तरिक बैठक बसेको जिकिर गरे ।
नेता केसीले पनि आफूहरुको कुनै भेला नभएको बरु आन्तरिक बैठक बसेको जिकिर गरे । उनले भने,‘हामी ३९ जिल्लाका सभापति भेला भयौं, १५÷१६ जनाले त भर्चुअल मिटिङमाफर्त हामीलाई समर्थन गर्नुभयो । चार वर्षमा गर्ने अधिवेशन वैधानिक रुपमा १ वर्ष थप्यौं । अर्को ६ महिना थपियो । अब यो अवधिमा पनि महाधिवेशन हुने सम्भावना छैन् । हामीसामू संवैधानिक संकट आयो । क्रियाशिल सस्यताको विवाद टुँगो लगाउन भनेका छौं ।’
उता, नेता खड्काले भने अहिले पार्टी ठूलो संकटमा नभएको जिकिर गरे । अहिले देखिएको संकटलाई आफूहरुले छिट्टै पार लगाउने पनि उनको भनाई छ । उनले भने,‘संकट समाधानको लागि धेरै खुड्किला बाँकी छन् ।’ कोरोना महामारीको कारण महाधिवेशनको लागि गर्नुपर्ने आवश्यक तयारी गर्न नसकिएको उनको स्विकारोक्ति थियो ।