Logo

खोप उत्पादक उद्योगलाई विशेष सुविधा



काठमाडौं, साउन २८ । सरकारले कोभिड तथा अन्य संक्रामक रोगविरुद्धको खोप बनाउने उद्योगलाई विशेष छूट दिने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमवार राजपत्रमा सूचना प्रकाशित गर्दै नेपालमै खोप उत्पादन गर्ने कम्पनीलाई विशेष छूट एवं सहुलियत दिने बताएको छ ।

नेपालमा कोभिडविरुद्धको खोप उत्पादन गर्न इच्छुक उद्योगलाई वित्तीय सहुलियत तथा छूट, क्लिनिकल ट्रायल स्वीकृति प्रदान, खोपको बजार मूल्य निर्धारण, पर्चेज ग्यारेन्टी तथा शर्तलगायत कर्जा ब्याज पूँजीकरण सुविधा, पुनर्कर्जाको दरमा सहुलियतपूर्ण कर्जा नवीकरण सुविधा दिने निर्णय सरकारले गरेको हो ।

राजपत्रमा प्रकाशित सूचनाअनुसार यस्ता उद्योगले सञ्चालनमा आएको ५ वर्षसम्म विद्युत् माग शुल्कमा छूट, पूर्वाधार निर्माणको ७५ प्रतिशत खर्च अर्थ मन्त्रालयले शोधभर्ना उपलब्ध गराउने तथा उद्योग दर्ता भएको ३ वर्षसम्म भन्सार, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क करमा पूर्ण छूट पाउने मन्त्रालयले बताएको छ ।

मन्त्रालयका अनुसार खोप उद्योग स्थापनाका लागि बाहिरबाट दक्ष जनशक्ति ल्याउनु परेमा भिसा तथा अध्यागमन सेवामा सरकारले सहजीकरण गरिनेछ ।

औषधि व्यवस्था विभागको स्वीकृतिअनुसार उद्योग वाणिज्य सचिवको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले खोपको मूल्य निर्धारण गरी बजारसम्म पुर्‍याउन सरकारले सहयोग गर्ने राजपत्रमा उल्लेख गरिएको छ । यसका लागि मन्त्रालयले केही शर्तहरू निर्धारण गरेको छ । खोपको तेस्रो चरणको क्लिनिकल ट्रायल भएपछि मात्रै खोप बजारमा लैजान दिने निर्णय सरकारको छ ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार खोप तयार हुनुपर्ने तर खोपलाई अन्तिम रूप दिन डब्ल्यूएचओको स्वीकृति अनिवार्य पर्नेछ । उद्योगले कानूनबमोजिम काम नगरेकोमा तत्काल सेवा रोक्ने शर्त सरकारले राखेको छ । मन्त्रालयले छूट तथा सहुलियतसम्बन्धी व्यवस्था गरी उक्त कार्यविधि गत साउन दोस्रो साताको मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्को स्वीकृतिपछि मन्त्रालयले उक्त निर्णयलाई राजपत्रमा प्रकाशित गरेको हो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्