Logo

१६ वर्षयता मुलुक ‘प्रचण्ड पथ’ मा, आगामी चुनावमा पहिलो नम्बर बन्ने रणनीतिमा केन्द्रित



काठमाडौं, २९ साउन । मुलुक अहिले पनि प्रचण्डकै पथमा छ । २०६३ सालयता देश उनकै एजेन्डामा अगाडि बढिरहेको छ । संविधानसभाबाट संविधान निर्माण उनकै एजेन्डा हो । गणतन्त्र, धर्मनीरपेक्षता र संघीयता पनि प्रचण्डले नै उठाएको मुद्दा हो । यो मुद्दा पूरा गरेर छाडेका उनी अहिले पनि राजनीतिको केन्द्रबिन्दुमा छन् ।

२०६२ ६३ को जनआन्दोलन दिल्लीमा भएको १२ बुँदे समझदारीको आधारमा बढेको हो । यसमा प्रचण्डको दल नेकपा माओवादी प्रत्यक्ष रुपमा संलग्न नभएपनि आन्दोलन चर्काउन महत्वपूर्ण भूमिका खेलेको तथ्य खुलिसकेको छ । त्यही जनआन्दोलनले मुलुकलाई गणतन्त्रतर्फ बढायो ।

अहिलेका मुख्य राजनीतिक दलमध्ये नेपाली काँग्रेस र नेकपा एमाले संविधानसभाको पक्षमा थिएनन् । न त उनीहरु गणतन्त्र, धर्मनीरपेक्षता र संघीयताको पक्षमा थिए । प्रचण्डले एकपछि अर्को रणनीतिक चार्तुयतामार्फत् ती दललाई यी मुद्दामा आउन वाध्य बनाए । त्यसयता मुलुक प्रचण्डकै एजेन्डामा चल्दै आएको छ ।

अढाई सय वर्ष लामो राजसंस्थालाई समाप्त पारेर सदीऔंदेखिको एकात्मक राज्य प्रणालीलाई संघीयतामा लाने प्रचण्डले नै मुख्य खेलाडी हुन् । त्यसैले जतिसुकै आरोह अवरोह आएपनि आफ्नो एजेन्डामा मुलुक चलेको जस लिदै प्रचण्ड हुंकार गर्छन् ।

जनआन्दोलनपछि २०६५ सालमा भएको पहिलो संविधानसभाको चुनावमा अभूतपूर्व सफलता हासिल गरेर प्रधानमन्त्री भएका प्रचण्ड प्रधानसेनापति रुक्माङ्गत कटवाललाई हटाउने विवादास्पद कदमपछि राजीनामा दिन वाध्य भए । त्यसपछि उनको दल छिन्नभिन्न नै हुनथाल्यो । प्रचण्ड निकै कमजोर अवस्थामा पुगे । तर, प्रचण्डको एजेन्डाले जितेकाले उनी त्यही बलमा शक्ति सञ्चयमा लागिरके । दोस्रो संविधान सभा निर्वाचनमा माओवादीले नराम्रो पराजय व्यहोरेको थियो । तर, प्रचण्ड कत्तिपनि डगमगाएनन् ।

तेस्रो ठूलो दलको नेताको हैसियतले प्रचण्डले राजनीतिलाई आफ्नो चाहना अनुसार डोर्याउन सके । उनी प्रधानमन्त्री बनाउने निर्णायक शक्ति भए । कहिले सुशील कोइरालालाई प्रधानमन्त्री बनाउन साथ दिन पुगे त कहिले केपी शर्मा ओली । आफै पनि प्रधानमन्त्री बने । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन साथ दिए ।

देउवालाई प्रधानमन्त्री बनाउन साथ दिएर सरकारमा गएकै बेला ओलीसँग चुनावी गठबन्धन बनाए । उनले रणनीतिक चार्तुयतामार्फत् स्थानीय निकायको निर्वाचन र प्रतिनिधि सभा निर्वाचनमा उल्लेख्य सफलता हासिल गरे । कमजोर हुँदै बिघटनको अवस्थामा पुग्न लागेको माओवादीलाई सामथ्र्यभन्दा बढी चुनावी सफलता दिलाएर शक्ति आर्जन गरे ।

प्रचण्डले एमालेसँग एकताको अस्त्र फाले । ओलीसँग हातेमालो गर्दै नेकपा गठन गरे । कतिपयले उनले एमाले कब्जा गर्न लागेको विश्लेषण पनि गरेका थिए । तर, उनी त्यसमा सफल भएनन् । एमाले र माओवादी ब्युँतियो । नेकपा हुँदा चर्केको विवादका क्रममा प्रचण्ड निकै कमजोर भएको विश्लेषण गरिए । प्रचण्डले गणतन्त्र, धर्मनीरपेक्षता र संघीयता धरापमा परेको भन्दै मुद्दा उठान गरिरहे ।

ओलीलाई हटाउन देउवालाई प्रधानमन्त्री बन्न मनाए । माधवकुमार नेपाललाई पनि गठबन्धनमा ल्याउन सके । उपेन्द्र यादव पनि आए । ओली सरकार ढल्यो । त्यसअघि सुदूरपश्चिम र कर्णाली प्रदेशमा माओवादी नेतृत्वको सरकार ढाल्ने प्रयास भयो । प्रचण्डले त्यसलाई विफल पारे । बरु गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढाल्न भूमिका खेले । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकार ढाल्न सफल भए ।

नेकपा छँदा ७ प्रदेशमध्ये प्रचण्डनिकटहरु २ प्रदेशमा सरकारको नेतृत्वमा थिए । अहिले उनको दल माओवादी केन्द्रबाट ३ प्रदेशमा मुख्यमन्त्री छन् । नारायणी देखि महाकालीसम्मका प्रदेशहरुमा माओवादी सरकार छ । प्रदेश २ र गण्डकी प्रदेशमा पनि माओवादीका मन्त्रीहरु छन् । अर्थ र ऊर्जासहित महत्वपूर्ण मन्त्रालय केन्द्र सरकारमा माओवादीको हातमा छ ।

प्रचण्डले अहिले फेरि प्रभाव बढाएका छन् । केन्द्र देखि प्रदेश सरकारहरुमा पकड बनाएकै छन् । अब उनी समाजवादी दल गठनको अभियानमा रहेको बुझिदैछ । देशको नम्बर एक दल बनाउने गरी विभिन्न दलका प्रभावशाली नेताहरुलाई एक ठाउँमा ल्याउन खोज्दैछन् । गणतन्त्र, धर्मनीरपेक्ष र संघीयताका पक्षधरलाई एक ठाउँमा ल्याएर आगामी चुनावमा बहुमत हासिल गर्ने लक्ष्यसाथ बढेका छन् । प्रचण्ड जतिसुकै आरोह अवरोहबीच पनि आफ्नो एजेन्डामा मुलुक चलिरहेको कारण दरिलो बन्ने गर्छन् । उनलाई यसकारण पनि राजनीतिक ऊर्जा प्राप्त भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्