Logo

मन्त्रीमण्डल विस्तार गर्न नेपाल समूहको प्रतीक्षा



काठमाडौं, साउन ३१ । सरकार गठनको एक महिना पुग्दा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन् । नेकपा एमाले माधवकुमार नेपाल समूहलाई सरकारमा ल्याउने प्रयास जारी रहेकाले मन्त्रीमण्डल विस्तारमा ढिलाइ हुँदै आएको छ ।

नेपाल समूहले सरकारमा सहभागी हुनेरनहुने कुनै निर्णय गर्न सकिरहेको छैन । सो समूहलाई सरकारमा सहभागी नगराएको खण्डमा सरकारले संसद्मा ल्याउने विधेयक पास हुन सक्ने अवस्था नरहने भन्दै प्रधानमन्त्री देउवाले केही दिन कुरेरै नेपाल समूहलाई सरकारमा सहभागी हुने नीति लिएको बताइएको छ ।

नेपाल समूहलाई सरकारमा ल्याउन सरकार गठन भएको यस अवधिमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई निवासमै पुगेर दर्जनौंपटक भेटवार्ता गरिरहेका छन् । तर, नेपाल समूहमै सरकारमा सहभागी हुने विषयमा मतभेद रहेको छ ।

मन्त्रीमण्डल विस्तारमा नेपाल समूहको प्रतीक्षा भइरहेका बेला यता पार्टीभित्रको आन्तरिक विवाद पनि समाधान हुन सकिरहेको छैन । पार्टीको केन्द्रीय कमिटीको बैठकले विधान सम्मेलन गर्ने निर्णय गर्दै स्थानीय पार्टी कमिटीमा पार्टी सदस्यता नवीकरणको कामलाई तीव्रता दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई समान अधिकारसहितको अध्यक्ष मान्न नसकिने अडान लिएपछि एमालेको एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

नेपाल समूहले दैनिकरूपमा छलफल जारी राखे पनि पार्टी एकता गर्ने वा देउवा नेतृत्वको सरकारमा सहभागी हुने विषयमा निर्णय गर्न सकिरहेको छैन । माधव समूहका सांसद मेटमणि चौधरी देउवा सरकारलाई विश्वासको मत दिएका कारण सरकारमा पनि सहमति हुनुपर्नेमा एकमत रहेको बताउन्छन् । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपाल समूहका २२ सांसदले नै सरकारमा सहभागी हुनुपर्ने दबाब नेता नेपाललाई दिँदै आएका छन् । नेपाल समूहभित्र नै सरकारमा सहभागी हुने नहुने विषयमा विवाद हुँदा सरकार गठन भएको एक महिनाको अवधिमा पनि नेपाल समूहले कुनै निर्णय लिन सकिरहेको छैन । आजको नेपाल समाचारपत्र दैनिकमा मधुसूदन रायमाझीले खवर लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्