Logo

खनाल अझै दुई हप्ता नफर्कने, दिल्लीबाट के सन्देश आयो



काठमाडौं, ३२ साउन । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अझै दुई हप्ता नयाँ दिल्लीबाट नफर्कने भएका छन् । नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गरेर स्वास्थ्यलाभ गरिरहेका खनालले आवश्यक उपचार सकेर मात्र आउने निर्णय लिएका हुन् ।

खनाल निकटस्थ एक नेताका अनुसार उनले स्वास्थ्यमा जोखिम नमोल्ने निर्णय लिएर केही दिन अझै बस्ने निर्णय लिएका छन् । यसअघि उनी यसै हप्ता फर्कने तय भएको थियो ।

चिकित्सकको सुझाव अनुसार खनालले शल्यक्रियाको टाँका समेत काटेर स्वदेश फर्कने भएका हुन् । उनको स्वास्थ्य निकै सुधार आइसकेको र सहज महशुश गरेको बुझिएको छ ।

यसैगरी, पूर्वप्रधानमन्त्री समेत रहेका झलनाथ खनाल फर्कन अझै दुई हप्ता लाग्नसक्ने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आगामी कदमका लागि बढेका छन् । उनले खनालसँग छलफल गरी कठोर कदम चाल्न लागेको बुझिएको छ ।

दिल्लीबाट फर्किएका सुरेन्द्र पाण्डे र भीम आचार्यले पनि खनालको सन्देश ल्याएका छन् । खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग कुनै हालतमा मिलेर जान नसकिने स्पष्ट पारिदिएका छन् । उनको सन्देशलगत्तै नेता नेपाल आन्तरिक तयारीमा जुटेका छन् । अब यसै हप्ता एमाले विवाद वार कि पार हुने गरी नेपाल अगाडि बढ्ने भएका छन् ।-फाइल तस्बिर



प्रतिक्रिया दिनुहोस्