Logo

संसद् अधिवेशन अन्त्यः १५ ओटा अध्यादेश अन्योलमा



काठमाडौं, भदौ १ । सरकारले संघीय संसद्को चालू अधिवेशन सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको चालू अधिवेशन सोमवार राति १२ बजेबाट अन्त्य हुने बेहोराको पत्र सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका हुन् ।

सोमवार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले राष्ट्रपति भण्डारीले प्रतिनिधिसभामा पठाउनुभएको पत्र वाचन गर्दै भने, ‘नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को २०७८÷४÷३२ को सिफारिशमा संघीय संसद् दुवै सदनको चालू अधिवेशन २०७८ साल साउन ३२ गते सोमवार राति १२ बजेदेखि अन्त्य गरेको छु ।’

सभामुख सापकोटाका अनुसार अधिवेशनमा विभिन्न अध्यादेश पेश भएका, संसदीय समिति र संवैधानिक आयोगहरूका प्रतिवेदन पेश गरिएका थिए । सभामुख सापकोटाले राष्ट्रपतिको उक्त पत्र वाचन गरेपछि प्रतिनिधिसभाको चालू अधिवेशन सोमवार राति १२ बजेबाट स्वतः अन्त्य हुने घोषणा गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेपछि गत साउन ३ गतेबाट अधिवेशन शुरू भएको थियो । अधिवेशनबाट प्रधानमन्त्री देउवाले विश्वास मतसमेत लिएका थिए ।

सर्वोच्च अदालतको २८ असारको फैसलापछि ३ साउनमा बैठक शुरू भएयताका २९ दिनमा प्रतिनिधिसभाका जम्मा १० ओटा बैठक मात्रै बसे । १० ओटा बैठकमा पनि देउवाले विश्वासको मत लिने र पहिलो बैठकमा पेश गर्नुपर्ने प्रावधानअनुसार केही अध्यादेशहरू पेश मात्र गरिए ।

अहिले संघीय ससंद्मा अघिल्लो सरकारले ल्याएको बजेटसहित १५ ओटा अध्यादेश विचाराधीन छन् । आर्थिक अध्यादेश, २०७८, राष्ट्र ऋण उठाउने अध्यादेश, २०७८ र विनियोजन अध्यादेश २०७८ गरी तीनओटा अध्यादेश पेश भएका थिए । यसलाई पारित नगर्दा बजेटमाथि संवैधानिक प्रश्न उठ्ने अवस्था छ ।

एकाएक संसद् अधिवेशन अन्त्य गर्दा कोभिड संकट व्यवस्थापन, तेजाब आक्रामणसम्बन्धी अध्यादेशहरू समेत अन्योलमा परेका छन् । संसद् विघटन गरेर अघिल्लो सरकारले ल्याएका ती अध्यादेश पाँच दलीय गठबन्धनबाट बनेको सरकारले अघि नबढाउने संकेत देखिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्