Logo

पार्टी फुटाउन माधव नेपालले तयार पारे ७० भन्दा बढी केन्द्रीय सदस्यको हस्ताक्षर



काठमाडौं, १ भदौ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी विभाजनका लागि सम्पूर्ण तयारी पूरा गरेका छन् । उनले नयाँ दर्ता गर्ने दलको खाका समेत तयार गरेका छन् । नाम समेत जुराइएको पार्टीमा उनी आफै अध्यक्ष रहनेछन् ।

पार्टी विभाजनका लागि नयाँ दर्ता गर्ने दलको विवरणहरु घनश्याम भुसालले लेखेका हुन् । भुसालले सबै विवरण नेता नेपाललाई बुझाइसकेको विश्वस्त स्रोतले बतायो ।

पार्टी विभाजनका लागि केन्द्रीय कमिटिका झण्डै ७५ जनाको हस्ताक्षर समेत तयार भइसकेको छ । उनीहरु नेकपा एमालेका नवौं महाधिवेशनबाट निर्वाचित कमिटीका सदस्यहरु हुन् । निर्वाचन आयोगमा एमालेको यही कमिटी दर्तामा छ ।

एमाले विभाजनका लागि सजिलो हुने गरी अध्यादेश समेत आउने भएको छ । जसमा केन्द्रीय कमिटी वा संसदीय दलमा ३० प्रतिशत भए पुग्ने गरी राजनीतिक दलसम्बन्धी ऐन संशोधन गरिदैछ । यसअघि माधव नेपालले ४० प्रतिशत केन्द्रीय सदस्यको हस्ताक्षर लिने लक्ष्य लिएपनि पूरा हुन सकेन ।

एमाले उपाध्यक्ष भीम रावल, सचिव योगेश भट्टराईलगायत नेताहरुले नेपाललाई साथ नदिने भएपछि केन्द्रीय कमिटिमा नेपालको पक्षमा ३५ प्रतिशत मात्र पुगेको बुझिएको छ । अब उनले यसैका आधारमा अध्यादेशमार्फत् नयाँ दल दर्ता प्रक्रियामा जाने सम्पूर्ण तयारी पूरा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्