काठमाडौं, २ भदौ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले विभाजन गरेपछि उक्त पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली झन् बलियो भएका छन् । विगतमा ओलीको आन्तरिक प्रतिद्वन्द्वी केन्द्रीय सदस्य झण्डै आधा भएकोमा अब ह्वात्तै घटेका छन् । माधवकुमार नेपालको साथमा झण्डै ३० प्रतिशत केन्द्रीय सदस्य गएपछि ओली पार्टीभित्र निकै बलिया भएका हुन् ।
एमालेमा अब अध्यक्ष अोलीको आन्तरिक प्रतिद्वन्द्वी उपाध्यक्ष भीम रावल भएका छन् । वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतम माधव नेपालको साथमा पुगेपछि रावल ओली पछि दोस्रो वरियतामा रहेका छन् ।
रावलले नै एमालेभित्र ओलीविरोधी खेमाको नेतृत्व गर्ने बुझिएको छ । उनको पक्षमा अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, योगेश भट्टराई, भीम आचार्यलगायत हस्तीहरु रहेका छन् । यो समूहले ओलीसँग एमालेभित्रै संघर्ष गर्ने निर्णय लिएर माधव नेपालको साथ छाडेको बुझिएको छ ।