काठमाडौं, ३ भदौ । ग्लोबल आइएमई बैंक र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नं १ बीच सम्झौता भएको छ । दुई संस्थाबिच महासंघका सदस्यहरुलाई सहज बैंकिङ्ग सेवा पुर्याउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघको तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले हस्ताक्षर गरेका छन् ।
बैंकको अनुसार महासंघको सिफारिसमा बैंकिङ्ग पहुँच नभएका साना व्यवसायी, युवा व्यवसायी, स्टार्टअप, नवउद्यमी तथा कृषि व्यवसायमा संलग्न उद्यमीहरुलाई प्राथमिकतामा राखी विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।
त्यस्तै, अपांगता भएका व्यक्तिहरुले व्यवसायिक कर्जा लिन चाहेमा विषेश सुविधासहित कर्जा उपलब्ध गरिने पनि समझदारीपत्रमा उल्लेख छ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न संघ–संस्थासँग समन्वय गरी यस्ता कार्यक्रम तथा योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको जनाएको छ ।
ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा बैंकको २८० शाखा, २४८ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।