Logo

“दसैंसम्म धेरैजसो नेपालीले खोप पाइसक्छन्, १२–१८ वर्षे उमेर समूहका लागि पनि खोप आउँदै छ”



काठमाडौं, भदौ ४ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दसैंसम्म अधिकांश नेपालीले खोप पाइसक्ने बताएका छन् । साथै उनले दुई वर्षसम्म स्कुल–कलेज जान नपाएको १२ देखि १८ वर्षे उमेर समूहका लागि पनि एक करोड डोज मोर्डना र फाइजर खोपको व्यवस्था गर्न लागेको जनाए ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि आज बिहान पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै राज्यमन्त्री श्रेष्ठले भने, “सरकारको सम्पूर्ण ध्यान खोप र महामारीविरद्ध लक्षित छ । नयाँ सरकार बन्नुअघिसम्म जम्मा ९७ लाख डोज खोप आएको थियो । अहिले एक महिनाको बीचमै १ करोड २४ लाख आयो । हामीसँग अहिले २५ लाख खोप भण्डारण क्षमता छ । त्यसैले आउनेबित्तिकै १६ हजार खोप केन्द्रमा पुग्छन् । अहिले हामीसँग प्रतिदिन ५ लाख खोप लगाउन सक्ने क्षमता छ । खोप स्टक नराखीकन प्रदेश, जिल्ला र पालिकामा पुर्याउने हाम्रो नीति छ ।”

राज्यमन्त्री श्रेष्ठले विद्यार्थी, शिक्षक, मजदुर, किसान, चालक, पसलवाला, व्यापारी, उद्योगी, निर्माण तथा पर्यटन व्यवसायी, बढी जनघनत्व भएका सहर, बढी जनसंख्या भएका जिल्ला, पर्यटकीय स्थल, हिमाली जिल्लालाई खोप दिने अबका कार्यक्रम रहेको बताए । उनले भने, “सम्पूर्ण नेपालीलाई ५ करोड ५० लाख खोप चाहिन्छ । प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै चैतभित्र खोप लगाउन सम्भव छ । हामी सारा शक्ति खोप व्यवस्थापनमा लगाइरहेका छौं । त्यसका लागि दातृसंस्था, खोप उत्पादक देश, कूटनीतिक च्यानलमार्फत प्रयास भइरहेका छन् ।”

कोरोना विरुद्धको खोप निःशुल्क भएको बताउँदै उनले कसैले बेचेको थाहा पायो भने कडाभन्दा कडा कारबाही हुने चेतावनी दिए । साथै उनले खोप लगाउन हुलमूल गर्नै नपर्ने पनि बताए । उनले भने, “काठमाडौंमा पहिले ३५ वटा मात्र खोप केन्द्र थिए, अहिले १५५ पुगेका छन् । पहिले एकदुई दिन मात्र केही घण्टाका लागि खोप दिइन्थ्यो, अहिले बिहान सात बजेदखि पाँच बजेसम्म लगाउने गरी एक हप्तासम्मका खोप कार्यक्रम ल्याएका छौं । त्यति मात्र होइन, अब रंगशाला, पार्टी प्यालेसमा खोप लगाउने हो ।”

सरकारले पर्यटन क्षेत्रलाई विशेष संवेदनशील भएर खोपको व्यवस्था गर्न लागेको उनले बताए । नेपाल घुम्न आउने पर्यटकले खोप लगाइसकेको भए एन्टिजेन, पीसीआर परीक्षण गरेर गन्तव्यमा पठाउने व्यवस्था हुने पनि उनले जानकारी दिए । उनले भने, “जम्मा आठदस दिन घुम्न आउने व्यक्ति सात दिन होटलमा बस्नुपरेपछि के हुन्छ ? त्यसमा हामी संवेदनशील छौं । नेगेटिभ रिपोर्ट आए पर्यटक घुम्न जान्छन्, पोजेटिभ आए आइसोलेसनमा बस्छन् ।”

अब पर्यटकीय सहर पोखरा, सौराहा, लुम्बिनी, नाम्चे, लुक्लाका साथै पदयात्राका रुटका मानिसलाई खोप लगाउने अभियान रहेको उनले बताए । उनले थपे, “नेपालमा दसैंसम्म धेरै जनाले खोप लगाइसक्छन् । बढी संक्रमण भएको ठाउँमा खोप बढाउने र स्मार्ट लकडाउन पनि लगाउने स्थिति आउँछ । तर लकडाउन नै नहुने स्थिति बनिसकेको छैन । यो काम हचुवामा नभई विज्ञको सरसल्लाहमा हुन्छ । सबैले स्वास्थ्य मापदण्डको पालना गरेमा त्यस्तो स्थिति आउँदैन ।”

राज्यमन्त्री श्रेष्ठले नेपालको स्वास्थ्य क्षेत्रमा तीनचार महिनापछि बिस्तारै परिवर्तन हुने पनि दाबी गरे । उनले भने, “अस्पतालहरुमा पर्याप्त दरबन्दी छैन । सबै जना काठमाडौंमै बस्न खोज्छन् । संघ अन्तर्गत रहेका २२ वटा ठूला अस्पतालमै स्रोत साधन छैन । मिर्गौला प्रत्यारोपण गर्न दुई वर्ष पर्खनुपर्छ । डायलासिस गर्ने ठाउँ पर्याप्त छैनन् । सरकारी अस्पतालमा गल ब्लाडरको अपरेसन गर्न पालो पर्खनुपर्ने स्थिति छ । पब्लिक हेल्थ राज्यको दायित्व हो । यसमा धेरै काम गर्न बाकी छ । आमूल परिवर्तन गर्न जरुरी छ । नीतिले शासन गर्यो भने धेरै काम गर्न सकिन्छ । त्यो म गरेर देखाउँछु ।”

आफूले अस्पताललगायत विभिन्न संस्थासँगको सम्बद्धता टुंग्याएको तर ती अस्पताल नाफा नकमाउने र सामुदायिक अस्पताल भएको अनि अन्यत्र कमाएर त्यहाँ लगानी गर्ने खालको भएको पनि नबिर्सन उनले सबैलाई अनुरोध गरे । श्रेष्ठले नेपाली युवामा अर्काको देशमा गएर काम गर्ने प्रवृत्तिमा सुधार ल्याउन गरिखाने अभियान पनि चलाएको स्मरण गरे । साथै उनले डाक्टर गोविन्द केसीले जे गर्न खोजेका छन्, आफूले पनि त्यही गर्न खोजेकाले भेटेर नै कुराकानी गर्ने पनि बताए । उनले भने, “मेरा सामु अवसर र चुनौती दुवै छन् ।”

तपाईं कति पैसा बुझाएर मन्त्री बन्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, “म नेपाली कांग्रेसको दुई पटक सांसद भइसकेको छु । पार्टीमा काम गरेको ९, १० वर्ष भयो । म अरुले नेगेटिभ कुरा गरे भन्दैमा पोजेटिभ हुन छाड्दिनँ ।” साथै उनले आफू स्वास्थ्य राज्यमन्त्री हुँदा पनि खुसी भएको र अरु मन्त्रालय दिँदा पनि अन्यथा नसोच्ने बताए ।

राज्यमन्त्री श्रेष्ठले केही दिनभित्रै सम्पत्ति विवरण सार्वजनिक गर्ने पनि बताए । उनले भने, “मैले सांसद हुँदा पनि पेस गरेको थिएँ । सांसद हुँदा त गरेको थिएँ भने मन्त्री हुँदा किन नगर्ने ?” ६० दिनभित्र सम्पत्ति विवरण पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ ।

उनले आफूले हार्डवर्क र भिजनका साथ विभिन्न संस्था बनाएको र त्यसले अर्थ आर्जन भएको पनि लुकाएनन् । उनले भने, “म मास्टरमात्र भएको भए सम्पत्ति कमाउन सक्दैनथे । मैले शिक्षा, हाइड्रो, स्वास्थ्य, पर्यटन, कृषि आदि क्षेत्रमा गरेको लगानी राज्यकै लागि हो ।”

कार्यक्रममा उनले आफ्नो ५० प्रतिशत सम्पत्ति फाउन्डेसन बनाएर सामाजिक काममा लगाउने पनि उद्घोष गरे । उनले भने, “नेपालमा पैसा कमाउनेले स्कुल, कलेज विश्वविद्यालय, अस्पताल बनाउने काम गरेनन् । त्यसैले मैले भन्दा पनि विश्वास गर्दैनन् । तर, म दीर्घकालीन सोच राखेर काम गरेर देखाउँछु । त्यस्ता काम भोलि कृतिका रुपमा रहन्छन् ।”



प्रतिक्रिया दिनुहोस्