काठमाडौं, ६ भदौ । नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमलाई सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनित राष्ट्रिय सभा सांसद हुनुले फाइदा मिलेको छ । उनी जुनसुकै दलमा गएपछि सांसद पद रिक्त हुँदैन । त्यसकारण पनि एमाले फुट्दा उनी माधव नेपालको नेतृत्वमा गठित नेकपा एकीकृत समाजवादीमा गइहालेनन् ।
गौतमले यसअघि आफू पक्षधर एकता अभियानका नेता कार्यकर्तासँगको छलफलमा एमाले समाजवादी मा जाने घोषणा गरेका थिए । ३ भदौमा उनले भनेका थिए, ‘म माधव नेपाल तिर जान्छु । माधव नेपालले मलाई एमाले र वामपन्थी एकताको जिम्मा दिनुहुन्छ ।’
तर, आज सचिवालयमार्फत् गौतमले आफू एमालेमै रहेको बताएका छन् । नेकपा एकीकृत समाजवादीको ९ भदौमा निर्वाचन आयोगले गर्ने सनाखत पछि मात्र पार्टी गठन सुनिश्चित हुन सक्छ । त्यतिञ्जेल बामदेवले नवठगित दलमा आफ्नो पद र हैसियतबारे पर्ख र हेरको रणनीति लिएको बुझिएको छ । सरकारमा कस्को नेतृत्वमा जानेबारे पनि गौतमले स्पष्ट हुनचाहेको बुझिदैछ ।
एमाले बैठकमा राजीनामा दिएर मात्र गौतम नेकपा एस मा जाने तयारी गरेका छन् । उनले माधव नेपाल पक्षमा नजाने घोषणा नगरिसकेकाले प्रक्रिया मिलाएर जान खोजेको बुझिएको छ ।
गौतम एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकै असन्तुष्ट छन् । विगतमा पार्टी एकताको जिम्मेवारी दिन भन्दा नदिएको भन्दै ओलीसँग रुष्ट छन् । निकटस्थहरुसँग गौतमले भनेका थिए, ‘केपी ओलीलाई म एकता गर्छु जिम्मा दिनुहोस् भन्दा दिनुभएन । माधव नेपालले एकताको जिम्मा दिनुहुन्छ त्यसैले उहाँतिर जान्छु ।’
गौतमले पार्टी एकता अभियान अझै चलाउने रणनीति बनाएका छन् । ओलीलाई कमजोर बनाएपछि मात्र एकता सम्भव हुने भएकाले माधव नेपालको पक्षमा जाने निकटस्थसँगको छलफलमा भनेका छन् ।
ओलीलाई पराजित नगरी पार्टी एक नहुने उनको निष्कर्ष छ । त्यसका लागि ओली नेतृत्वको एमालेमा गएर केही गर्न नसकिने ठहर निकालेका छन् । उनले निकटस्थमाझ भनेका थिए, ‘अब हामीले विद्रोह गर्ने हो । अर्को पक्षमा लागेर पार्टी एकताका लागि प्रत्यत्न गर्ने हो ।’