Logo

‘हिन्दुत्वको लक्ष्य बोकेका’ भाजपा नेता विजय चौथाइवालेको अर्थपूर्ण नेपाल भ्रमण



काठमाडौं, ७ भदौ । नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले हिन्दुत्वको मुद्दामा कट्टर छन् । उनले हिन्दुत्वको मुद्दामा विदेशी नेताहरुले आलोचनात्मक टिप्पणी गरेमा त्यसको प्रतिक्रिया दिइहाल्छन् । पछिल्लो समय जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईसँग सामाजिक सञ्जालमा उनको शब्दको द्वन्द्व नै चलेको थियो ।

भट्टराईले योगी आदित्यनाथले दूध चढाएको तस्बिर राखेर आलोचनात्मक टिप्पणी गरेपछि चौथाइवालेले त्यसको आलोचना गरेका थिए । यसबाट पनि उनी हिन्दुत्वको मुद्दामा कट्टर छन् भन्ने देखिन्छ । चौथाइवाले स्वयं हिन्दुत्वको सिद्धान्तबाट निर्देशित राष्ट्रिय स्वयंसेवक संघमा काम गरेका नेता हुन् । बाल्यकालदेखि आरएसएसमा आवद्ध चौथाइवाले हिन्दुत्व इन प्रिजेन्ट कन्टेक्स्टका लेखक पनि हुन् ।
हिन्दुत्वलाई लक्ष्य बनाएर चौथाइवालले लामो समय काम गरिसकेका छन् । विज्ञानका विद्यार्थी भएपनि उनी धर्म संस्कृतिको गहिरो अध्ययन गरेका नेता मानिन्छन् ।

माइक्रोबायलोजीमा विद्यावारिधी गरेका चौथाइवाले दर्जनभन्दा बढी कृति समेत छन् । उनलाई भाजपाको विदेश मामलाको कुशल रणनीतिकार मानिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र चौथाईवालेको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

नेपालमा सरकार परिवर्तन भएपछि चौथाईवालेको पहिलो भ्रमण भएको हो । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेका छन् । दुवै भेट नेपाल मामलामा भाजपाको भावी रणनीतिको उद्देश्य बोकेको बुझिएको छ ।

पछिल्लो समय नेपालमा हिन्दुत्वको मुद्दा फैलन खोजिरहँदा भारतको सत्तारुढ भाजपाले नयाँ रणनीति बनाउन खोजेको देखिदैछ । हिन्दुत्वको मुद्दामा विदेश विभाग हेर्ने चौथाइवाले पनि अझ खुलेर प्रस्तुत भइरहेका छन् । यसबीच उनको नेपाल भ्रमणलाई चासोका साथ हेरिएको छ ।

चौथाइवाले नेपाल भ्रमणमा आउनु अघि पूर्व प्रधानसेनापति रुक्माङ्गत कटवालको हिन्दु राष्ट्र अभियान सुरु भइसकेको छ । ओलीको गेरु वस्त्र चर्चामा छ । उनका विश्वासपात्र महेश बस्नेतले धर्मनीरपेक्षबारे बहस चलाउने देखि हिन्दुराष्ट्रको मुद्दामा बढ्ने संकेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्