काठमाडौं, ७ भदौ । नेकपा एकीकृत समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता नहुँदै जग हल्लिएको छ । संयोजक माधवकुमार नेपालले आशा गरेभन्दा विपरित परिस्थिति विकास हुन थालेको छ । उनलाई लामो समय साथ दिएका भीम रावललगायतका नेताहरु एमाले फुटाउने पक्षमा उभिएनन् । उनीहरु एमालेमै रहने निर्णयमा पुगेका छन् ।
नेकपा एसमा रहेका भनिएका सांसदहरु नै एमालेमा फर्कने अवस्था विकास भएको छ । यसले माधव नेपालमाथि संकट आएको छ । उनले एमालेमा फर्कनेबारे शर्तसहित राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । यो सम्भावना कमजोर छ । तर, असम्भव छैन ।
एमालेमा माधवकुमार नेपाल फर्किएमा बामदेव गौतम अगाडि बढ्न ठिक्क परेका छन् । उनले माधव नेपाललाई साथ दिने सार्वजनिक रुपमै घोषणा गरिसकेका छन् । विगतमा केपी शर्मा ओलीलाई पटक पटक साथ दिदा पनि धोका दिएको र चुनावमा पैसाको खोलो बगाएर हराएको आरोप लगाएका छन् ।
गौतम एमाले विभाजनको योजनाकार पनि हुन् । तर, उनी फुटेको पार्टीमा गएका छैनन् । एमाले बैठकमा गएर विधिवत् रुपमा राजीनामा दिएर नेकपा एसमा जाने भएका छन् । तर, माधव नेपाल नयाँ निर्माण हुन लागेको दलबाट ब्याक भएमा गौतम नै अगाडि बढ्ने बुझिएको छ । उनी कुनै हालतमा ओलीसँग मिलेर जान नसकिने निष्कर्षमा छन् । उनले निकटस्थसँग भनेका छन्, ओलीलाई परास्त नगरी एमालेमा रहन सकिदैन ।
अहिले निर्वाचन आयोगमा दर्ता प्रक्रियामा रहेको नेकपा एकीकृत समाजवादी पार्टीमा गौतम निकट सांसदहरुको उल्लेख्य संख्या छ । उनीसँग लामो समय काम गरेका र नेकपा माले हुँदा रहेकाहरु छन् । नयाँ दल निर्माणमा उनको पनि महत्वपूर्ण भूमिका थियो ।