काठमाडौं, ७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेसँग आज विहान भेटवार्ता गरे । चौथाइवाले ४ दिने नेपाल भ्रमणमा आएर उच्चस्तरीय राजनीतिक भेटमा सक्रिय छन् । उनले नेपालमा सरकार परिवर्तन र दुई प्रमुख दलहरु फुटेकोबारे चासो राखेका थिए । तर, चौथाइवालेसँग भेटेपछि ओली भने उत्साही भएको बुझिएको छ ।
ओलीले चौथाइवालेसँग हिन्दुत्वका विषयमा पनि कुराकानी गरेको बुझिएको छ । चौथाइवाले हिन्दुत्वबारे पुस्तकका लेखक पनि हुन् । ओली पनि हिन्दुत्वबारे राम्रो जानकार छन् ।
चौथाइवालेसँग भेटेपछि ओलीले बालकोटमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डेलगायतका नेताहरुसँग गम्भीर छलफल गरे । उनले १० बुँदे कार्यान्वयनको प्रतिवद्धता जनाए । एमालेमा फेरि हुनसक्ने दुर्घटना टारे । यी घटनाहरु चौथाइवालेसँगको भेटपछि विकास भएका हुन् । यसलाई धेरैले संयोग नै मानेका छन् । तर, चौथाइवालेसँगको भेटपछि ओलीको मुहारमा चमक आएको बुझिएको छ ।