Logo

मौद्रिक नीतिले आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउँछ : डा. चिरञ्जीवि नेपाल



बुटवल, ८ भदौ । नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर तथा पूर्व प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. चिरञ्जीवि नेपालले सरकारले पुजिगत खर्चमा जोड दिनुपर्ने बताए । उनले कोरोना महामारीले निम्न वर्गका नागरिकहरु समस्यामा परेको बताउँदै राहतका प्याकेजहरु तत्काल ल्याउनु पर्नेमा जोड दिए ।

सोमबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेपालले कोरोना भ्याक्सिनलाई प्राथमिकता दिनुपर्ने बताउँदै जनताको जीवन उत्थानको लागि राहतका कार्यक्रमहरु ल्याउनुपर्नेमा जोड दिए । मुलुकको अर्थतन्त्र अगाडी बढाउन तिनाउ डाईभर्सन राम्रो विकल्प रहेको बताए । उनले लुम्बिनीको विकासको लागि भैरहवा अन्तरराष्ट्रिय विमानस्थल, सिद्धबाबा सुरुंङ मार्गको कामलाई छिटोभन्दा छिटोअगाडी बढाउन सुझाव दिए ।

बुटवल पाल्पा सडक अन्तर्गत सिद्धबाबा क्षेत्रमा वर्षेनी कम्तीमा ५र७ जनाको ज्यान लिएको अवगत हुँदाहुँदै पनि राजनीतिक नेतृत्व तहले समाधानतर्फ गम्भीर रुपमा चासो नदिएको दुखेसो पोखे ।

उनले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र बलियो बनाउँने बताउँदै आर्थिक पुनरुत्थानलाई सहयोग पुर्याउने बताए । मौद्रिक नीतिले अर्थव्यवस्थामा मौद्रिक व्यवस्थापन, ब्याजदर व्यवस्थापन, वित्तीय क्षेत्र सुदृढीकरण, भुक्तानी प्रणालीमा सुदृढीकरण, विदेशी विनिमय व्यवस्थापन, वित्तीय पहुँच जस्ता उपायमार्फत नियमन र सन्तुलन कायम गरी समष्टिगत आर्थिक उद्देश्य प्राप्ति गर्न सघाउ पुर्याउने बताए ।

डा.नेपालले सरकार परिवर्तन भइरहने र नयाँ सरकारसँगै नयाँ बजेट आउने खालको क्रियाकलापले योजनाहरु रोकिने, समयमै पुरा नहुने बताए । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्