काठमाडौं, ९ भदौ । मार्क्सवादले कुनै पनि वस्तुको अन्त त्यसभित्रै निहित हुने मान्छ । नेकपा एमालेमा त्यही भएको छ । अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आफ्नै कारणले राजनीतिक जीवन नै अन्तको दिशामा बढेका छन् ।
ओली आफ्नै हठ र कदमले दुई तिहाईको सरकार पाँच वर्ष ढुक्कले चलाउनसक्ने अवस्थाका बाबजुद हट्न पुगे । यसमा उनले चालेका कदमहरु नै जिम्मेवार थिए । निषेधको राजनीतिक गर्दा ओली नराम्रो धक्का खान पुगे । नेकपा विभाजन भयो । त्यसपछि एमाले पनि विभाजन भयो ।
एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादीका माधवकुमार नेपाल पनि आफ्नै कारणले राजनीतिक जीव नै अन्तको दिशामा पुगेका छन् । उनको साथमा झलनाथ खनाल खुलेर देखिएका छन् । उनी पनि राजनीतिक जीवनको उत्तर्राद्धमा छन् । बामदेव गौतमले पनि साथ दिइरहेका छन् । गौतमको राजनीतिक जीवन पनि उत्तराद्र्धमै छ ।
नेकपा एमालेको राजनीति ३० वर्ष देखि केपी शर्मा ओली, माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतमको वरिपरि नै घुम्दै आएको छ । मदन भण्डारीको दासढुंगा दुर्घटनामा मृत्युपछि महासचिव बनेका माधव नेपालले डेढ दशक एमालेमा एकछत्र प्रभाव जमाएका थिए । उनलाई लामो समय ओलीले साथ दिएका थिए ।
एमालेको राजनीतिको बागडोर झलनाथ खनालको हातमा पुग्यो । त्यतिबेला पनि माधव नेपाल, केपी शर्मा ओली र बामदेव गौतम हावी भइरहे । खनालपछि ओली एमालेको अध्यक्ष बने । यी ४ नेता नै तीन दशकसम्म एमालेमा प्रभावशाली रहे । उनीहरु पछिको पुस्ताका नेताहरु नेतृत्व लिन बढ्न सकेनन् । उनीहरु ४ नेताकै गुटमा विभाजित भइरहे ।
अहिले एमाले विभाजनसँगै पहिलो पुस्ताका माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम पाखा लागेका छन् । यसले दोस्रो पुस्ताका नेता एमालेको नेतृत्वका लागि अगाडि बढ्ने माहोल तयार भएको छ । अध्यक्ष केपी शर्मा ओली एमालेभित्र बलियो छन् । उनलाई चुनौती दिइहाल्ने क्षमताको नेता देखिइसकेको छैन । तर, पछिल्लो घटनाक्रमले उनीमाथि विस्तारै चुनौती बढ्ने देखिन्छ । एमालेमा ओलीयुग पनि समाप्त हुने माहोल तयार हुँदै गएको छ । पहिलो पुस्ताको युग नै समाप्त हुने सम्भावना देखिएको छ ।