बैतडी, ९ भदौ । बैतडीमा जङ्गली जनावरले आतङ्क मच्चाएका छन् । बँदेल, बाँदर र दुम्सीले आतङ्क मच्चाएका हुन् । यी जङ्गली जनावरले यहाँका किसानले लगाएका बालीनाली सखाप पार्न थालेका हुन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली तथा अन्य खाद्यबाली र फलफूल, तराकारी नष्ट गर्न थालेका हुन् ।
खास गरेर मुख्य खाद्यबालीका रुपमा रहेको मकैबाली जङ्गली जनावरले नष्ट गर्न थालेका हुन् । जिल्लाका अधिकांश ठाउँमा मकैबाली जोगाउन धौधौ परेको किसानले बताएका छन् । दिउँसोमा बाँदर र रातिमा दुम्सी तथा जङ्गली बँदेलले मकैबाली नष्ट गर्न थालेपछि मकैबाली जोगाउन सकस परेको दोगडाकेदार गाउँपालिका–३ का गणेश विष्टले बताए । पाक्नै लागेको मकैलाई जङ्गली जनावरहरुले नष्ट गर्न थालेपछि किसानहरु चिन्तित बनेका छन् । मकैबाली जङ्गली बँदेलले खान थालेपछि रातदिन जाग्राम बस्नु परेको छ ।
उनले भने, “जङ्गली जनावर धपाउनकै लागि जाग्राम बस्नु परेको छ, रातमा निद्रा छैन, दिनमा भोक छैन ।” मकैको घोगा लागेको बेलादेखि नै जङ्गली जनावरले मकैबाली नष्ट गर्न थालेपछि किसान चिन्तामा परेका हुन् । दुम्सीले लगातार रुपमा केही दिनदेखि मकैबाली नष्ट गर्न थालेपछि बँदेल र दुम्सीलाई कसरी नियन्त्रण गर्ने भनेर किसानलाई पिरोलेको छ ।
रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन मुस्किल भएको किसान जयसिंह नाथले बताए । टहरा बनाएर रातिको समयमा पहरा दिए पनि मकैबाली जोगाउन नसकिएको नाथको भनाइ छ । “रातभरि खेतमै बस्नु परेपछि बाजागाजाका साधनहरु टहरोमै लगेर गीत गाएर बस्ने गरेका छौँ,” उनले भने, “आफूहरुले हरेक वर्ष बँदेल धपाउन पहरा बस्ने गरेका छौँ ।,” यसका साथै थाल ठटाउने पनि गर्ने गरेका छन् । बाँदर धपाउन सबै काम छोडेर आफूहरुले मकैको गोठालो लाग्नु परेको स्थानीयवासी वीरेन्द्र धामीले बताउनुभएको छ । बाँदरले मकैबालीसँगै आँप, अनारलगायत फलफूल पनि नष्ट पारेको छ । उनले भने, “बादँरको आतङ्क बढ्दै गएकाले नियन्त्रणका लागि स्थानीय तहले पहल गरिदिनुपर्छ ।” रासस