काठमाडौं, ९ भदौ । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेले नेपालका मुख्य राजनीतिक दलका शिर्ष नेता देखि दोस्रो पुस्ताका प्रभावशाली नेताहरुलाई समेत भेटे । उनले धेरैभन्दा धेरै नेताहरुसँग भेटेर नेपालको घटनाक्रमबारे सुक्ष्म जानकारी लिएको बुझिएको छ । यी भेटहरु भारतको सत्तारुढ दलबाट सन्देश पनि थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट उच्चस्तरको भेटवार्ता सुरु गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री बालकृष्ण खाँण, कानुनमन्त्री ज्ञानेन्द्रबहदुर कार्की, माओवादी नेता वर्षमान पुनलगायतसँगको भेट खुलाइएको छ । केही गोप्य भेटवार्ताहरु पनि गरेका थिए ।
प्रमुख दलका नेताहरुलाई भेटेपनि चौथाइवालेले जनता समाजवादी पार्टीका नेताहरु कसैलाई पनि भेटेनन् । जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवमध्ये कसैलाई पनि भेटेनन् । भट्टराईसँग चौथाइवालेको ट्वीटरमै टकराव परेको थियो । चौथाइवालेले बाबुरामले हिन्दु धर्ममाथि अपमान गरेको भन्दै आलोचना गरेका थिए ।
उपेन्द्र यादवप्रति पनि भारतको सत्तारुढ भाजपा रुष्ट देखिएको छ । चौथाइवालेले यादवलाई नभेटेर असन्तुष्ट रहेको सन्देश दिए । यो घटनासँगै जसपाभित्र खैलाबैला मच्चिएको छ । विशेषगरी मधेशबाट निर्वाचित सांसदहरु चौथाइवालेले नभेटेपछि गम्भीर बनेका छन् ।
भाजपाले हिन्दुत्वको मुद्दालाई जोड दिने गरेको र जसपाभित्र हिन्दुत्वविरोधीहरु हावी भएपछि सम्बन्धहरुमा चीसोपान आउन थालेको बुझिएको छ । विशेषगरी बाबुराम भट्टराई र उपेन्द्र यादव हिन्दुत्वको मुद्दामा अनुदार रहँदै आएका छन् । भट्टराई त हिन्दुत्वको कट्टरविरोधीका रुपमा उभिदै आएका छन् । यसकारण पनि जसपाप्रति भारतको सत्तारुढ भाजपा रुष्ट रहेको बुझिएको छ । यसको सन्देश चौथाइवालेले दिएका छन् ।