Logo

माधव नेपाललाई एमालेमा ठाउँ नदिने रणनीतिमा ओली सफल, साथ छाड्नेहरु धमाधम पुरस्कृत



काठमाडौं, १० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार छाडेर बालकोट पुगेपछि भनेका थिए एमालेमा माधव नेपाललाई कुनै ठाउँ छैन । उनले भनेजस्तै गरे । माधव नेपाललाई एमालेमा रहनै नसक्ने बनाइदिने । तर, उनीनिकटस्थ हस्तीहरुलाई एमालेमै रहने अवस्था निर्माण गरे ।

माधव नेपालको खेमाबाट नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी कोही पनि फुटेको पार्टीमा गएनन् । यतिसम्मकी माधव नेपालबाहेक कोही पनि निर्वाचित स्थायी कमिटी सदस्य अहिले नेकपा एसमा छैनन् । यसबाट पनि ओली माधव नेपाललाई एमालेबाट निकाल्ने रणनीतिमा सफल भएका छन् ।

ओलीले माधव नेपालको साथ छाडेका अष्टलक्ष्मी शाक्यलाई बागमतीको मुख्यमन्त्री बनाइसकेका छन् । अब भीम आचार्यलाई प्रदेश १ को मुख्यमन्त्री बनाउँदैछन् ।

माधव नेपालको साथ छाडेका अन्य पदाधिकारीलाई पनि महत्वपूर्ण जिम्मेवारीहरु दिन थालेका छन् । योगेश भट्टराईले प्रवक्ताको जिम्मेवारी पाएका छन् । भीम रावल र युवराज ज्ञवालीले वरियतामा माथिल्लो स्थान पाएका छन् । रघुजी पन्तलाई उनले यसअघि नै स्थायी कमिटी सदस्य बनाइसकेका छन् ।

ओलीले बोलेजस्तै माधव नेपाललाई एक्ल्याएर पार्टीमा रहन नदिने रणनीति बनाएका थिए । जसमा उनी सफल भएका छन् । माधव नेपालले सोचेजस्तो एमालेको ठूलो शक्ति नयाँ दलमा लान पनि सकेनन् ।



प्रतिक्रिया दिनुहोस्