काठमाडौं, १० भदौ । भारतको सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपालमा सरकार परिवर्तन भएपछि आइपुगे । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र मानिएका चौथाइवालेले नेपाल भ्रमणका क्रममा शिर्ष देखि दोस्रो तहका प्रभावशाली नेताहरुलाई छानेर भेटे । यो आफैमा सन्देश थियो ।
भाजपाको नेताका रुपमा उनी नेपाल आएका थिए । तर, अप्रत्यक्ष रुपमा भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा पनि उनी आएका थिए । मोदीको सन्देश समेत साथ थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाबाट भेट सुरु गरेर विभिन्न दलका प्रभावशाली नेताहरुलाई भेट्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई जाँदा जाँदै भेटेका थिए । नेपालसँगको भेट यो भ्रमणको अन्तिम भेट भनी ट्वीटरमा लेखेका थिए । देउवासँगको भेट आरजु देउवाको राँखीको स्वागतबाट भएको थियो । रक्षाबन्धनका दिन आरजुले राँखी बाँधेर चौथाइवालेलाई बालुवाटारमा स्वागत गर्नु सन्देशमूलक घटना थियो । आरजु पछिल्लो समय हिन्दुत्वलाई आत्मीय देखाइरहेकी छिन् ।
चौथाइवालेले हरेक नेतालाई छुट्टाछुट्टै भेटेका थिए । उनले भेटेका नेताहरुमा नेकपा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपमहासचिव विष्णु पौडेल हुन् । पौडेललाई चौथाइवालेले परममित्र भनेका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका अलावा नेताहरु वर्षमान पुन र जर्नादन शर्मालाई पनि भेटेका थिए । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधि, सहमहामन्त्री डा. प्रकाशशरण महतका अलावा नेताहरु बालकृष्ण खाँण र ज्ञानेन्द्रबहादुर कार्की पनि थिए ।
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई पनि भेटे । तर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईसँग भने भेटवार्ता गरेनन् । यादव र भट्टराईप्रति भारतको सत्तारुढ दल भाजपाको असन्तुष्टिको सन्देश थियो त्यो । यसलाई राजनीतिमा अर्थपूर्ण मानिएको छ ।
चौथाइवाले हिन्दुत्वको मुद्दाका पक्षधर हुन् । त्यसबारे उनको पुस्तक नै प्रकाशित छ । विज्ञानका विद्यार्थी भएपनि उनी धर्म संस्कृतिको गहिरो अध्ययन गरेका नेता मानिन्छन् । माइक्रोबायलोजीमा विद्यावारिधी गरेका चौथाइवाले दर्जनभन्दा बढी कृति समेत छन् । उनलाई भाजपाको विदेश मामलाको कुशल रणनीतिकार मानिन्छ ।
डा. बाबुराम भट्टराईले हिन्दुहरुलाई ठेस पुग्ने गरी टिप्पणी गरेको भन्दै असन्तुष्ट छन् । जसपा नेता डा. भट्टराईसँग सामाजिक सञ्जालमा उनको शब्दको द्वन्द्व नै चलेको थियो । भट्टराईले योगी आदित्यनाथले दूध चढाएको तस्बिर राखेर आलोचनात्मक टिप्पणी गरेपछि चौथाइवालेले त्यसको आलोचना गरेका थिए । हिन्दुत्व विरोधी भाजपाको मित्र हुन सक्दैन भन्ने सन्देश चौथाइवालेले दिएका छन् ।
चौथाइवाले नेपाल भ्रमणमा भेटहरुमा निकै व्यस्त रहे । उनले वस्तुस्थितिबारे गहिरो जानकारी लिएर गएको बुझिएको छ । अब भारतको सत्तापक्षले चौथाइवालेको ब्रिफिङबाट नेपाल मामलामा रणनीति लिनसक्छ । पर्ख र हेरको अवस्थामा रहेको भारतीय पक्षले यसपटक चौथाइवालेको भ्रमणमार्फत् यथार्थ अवस्था सूक्ष्म ढंगले बुझ्न खोजेको देखिन्छ । साथै कस्लाई कस्तो व्यवहार गर्ने सन्देश पनि दिन खोजेको छ ।