वासिङटन, १० भदौ । अमेरिकी नेतृत्वको सेनाले विमानमार्फत् अझै हजारौँको उद्धार बाँकी रहेको बताइरहँदा अफगानिस्तानको काबुल विमानस्थलबाहिर ठूलो विस्फोट भएको अमेरिकी सेनाले बिहीबार पुष्टि गरेको छ ।
अमेरिकी नेतृत्वको पश्चिमी सेनाले विमानस्थल परिसरमा पुगेका हजारौँ मानिसको दैनिक उद्धार गरिरहेका समय विमानस्थल छोड्न तालिवान समूहले चेतावनी दिएको बताइएको छ । विमानस्थलमा एशियाली मुलुकका नागरिकहरू पनि उद्धारको पर्खाइमा रहेका हुनसक्ने अनुमान गरिएको छ ।
पेन्टागनका प्रवक्ता जोन कर्बीले भने,“काबुल विमानस्थल बाहिर ठूलो विस्फोट भएको छ । यतिबेला बिष्फोटबाट भएको हताहतबारे स्पष्ट जानकारी प्राप्त भएको छैन । थप विवरण प्राप्त हुँदासाथ दिइनेछ ।”
आत्मघाती बम आक्रमणकारीहरुले विमानस्थलमा आक्रमण गर्ने धम्की दिँदै आएको अमेरिकी र सम्बद्ध अधिकारीहरूले गोप्य सूचना पाएको बताएका छन् ।
अमेरिकी सेनाले छिट्टै विमानस्थल छोड्ने अफबाह फैलिएपछि यसअघि कर्बीले एक ट्वीटमार्फत् सम्प्रेषित सन्देशमा ‘काबुलमा उद्धार कार्य ३६ घण्टामा पूरा नहुने र मिशनको अन्त्य नभएसम्म हामी सकेसम्म धेरै मानिसहरूलाई उद्धार गरिरहनेछौं’ भनेका थिए । रासस/एएफपी
Photo Source: AP