Logo

अख्तियारलगायतमा नियुक्तिमाथिको रिटको सुनुवाई संवैधानिक इजलासमा



काठमाडौं, ११ भदौ । संवैधानिक परिषदले अध्यादेशमार्फत् गरेको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाई सुरु भएको छ । आजबाट प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा गठित इजलासले सुनुवाई सुरु गरेको हो ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश जबरा, न्यायाधीशहरु दिपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा छन् । इजलासले सुनुवाईपछि मुद्दाको अन्तिम किनारा लगाउनेछ ।

दुईपटक अध्यादेशमार्फत् अख्तियार, लोकसेवालगायत संवैधानिक निकायहरुमा नियुक्ति भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको संवैधानिक परिषदको बैठकले बहुमतबाट नियुक्तिको सिफारिश गरेको थियो । प्रतिनिधि सभा विघटन भएको अवस्थामा सुनुवाई हुन नसकेपछि ४५ दिनको समय कटेपछि स्वतः सिफारिश नामहरुको नियुक्ति भएको थियो ।

संवैधानिक निकायमा भएका नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटालगायतले रिट दायर गरेका छन् । उनीहरुले नियुक्ति असंवैधानिक भन्दै खारेजीको माग गरेका छन् । संवैधानिक निकायका नियुक्तिप्रति काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायत ओलीविरोधी नेताहरु असन्तुष्ट छन् ।



प्रतिक्रिया दिनुहोस्