Logo

राष्ट्र बैंकद्वारा हवाई सेवा कम्पनीहरुलाई २५ हजार डलर सम्मको सटही सुविधा थप



काठमाडौं, १३ भदौ । नेपाल राष्ट्र बैंकले हवाई सेवा प्रदायक कम्पनीहरुलाई २५ हजार अमेरिकी डलर बराबरको सटही सुविधा दिने भएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै विदेशबाट सेवा आयातको लागि हवाई संचालक कम्पनीहरुलाई यस्तो सुविधा दिने जानकारी दिएको हो।

बैकले गरेको यो व्यवस्था अनुसार हवाई कम्पनीहरुले वाणिज्य बैंकहरुबाट २५ हजार अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन्। सुविधा लिनको लागि फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र कर दर्ता प्रमाणपत्र पेश भने गर्नुपर्ने हुन्छ । यस्तै, कर चुक्ता प्रमाणपत्र र सेवा खरिदबापत नियम अनुसार कर दाखिला गरेको प्रमाण पनि पेश गर्नुपर्छ । बैंकको अनुसार पछिल्लो लेखापरीक्षण प्रतिवेदन पनि संलग्न गरेपछि यस्तो सटही सुविधा पाइनेछ ।

सेवा प्रदान गर्ने संस्थासँग गरेको सम्झौता र विलविजकको प्रमाणित प्रतिलिपी, सम्झौता बमोजिम गरेको कार्यको विवरण सहित संचालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपी र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्वःघोषणा, काम सम्पन्न भएको पुष्टी हुने कागजात र नियामक निकायको सिफारिस चाहिने राष्ट्र बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्