नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता गणेश साहले सरकारले छिट्टै पूर्णता पाउने दाबी गरेका छन् । आज (मंगलबार) विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता साहले यस्तो बताएका हुन् । उनले माधव नेपाल र उपेन्द्र यादवहरुले लचकता देखाएपछिमात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने दाबी गरेका छन् । प्रस्तुत छ नेता साहसँग पत्रकार धमलाले गरेको कुराकानीको सम्पादित अंश :
तपाईंहरुले अझै मन्पिरिषद विस्तार गर्न सक्नुभएन, माओवादी केन्द्रलाई पनी धेरै मन्त्री चाहियो रे हैन ?
होइन, यो सरकारलाई पूर्णता दिने हाम्रो जिम्मेवारी हो । यसको लागि हाम्रो तर्फबाट के–कति लचकता देखाउनुपर्छ । त्यसको लागि हामी तयार छौं । त्यसको लागि शीर्ष नेताहरु आज बस्दै हुनुहुन्छ । त्यो बैठकले चाहीँ मन्त्रालयको बाँडफाँड टुङ्ग्याउछ । त्यसपछि भोलिसम्म मन्त्रिमण्डल बन्छ । मन्त्रिमण्डल बनेपछि उहाँहरुलाई ठूलो जिम्मेवारी हुन्छ । किनभने यो कठिन परिस्थितिमा काम गरेर देखाउनुपर्नेछ । माधवजी र जसपाको प्राविधिक र कानूनी जटिलतापनि सकिएको छ । अब उहाँहरुले पनि लचकता देखाएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउँछ ।
त्यसोभए भोलि मन्त्रिपरिषद विस्तार हुन्छ ?
हजुर, हुन्छ ।
तपाईंले यसबारेमा प्रचण्डसँग कुरा गर्नुभयो ?
होईन, हिजो हाम्रो बैठक थियो । प्रचण्डजी पनि हुनुहुन्थ्यो । मन्त्रिपरिषद्बाहेक पार्टीमा अरु एक÷दुईवटा कुराहरु पनि छ, त्यो कुरापनि उठेको थियो । आज पार्टीले टुङ्ग्याउँछ । भोलिसम्ममा मन्त्रिपरिषद् विस्तार हुन्छ ।
त्यसोभए प्रचण्डले भनेअनुसार भोलि बिहानसम्म मन्त्रिपरिषद विस्तार हुन्छ त ?
उहाँले बैठकमा पनि मन्त्रिपरिषद् बैठक विस्तार हुन ढिला भएको भन्दै दुःख व्यक्त गर्नुभएको थिए । जनस्तरबाट पनि यसमा ढिला भएको भन्दै गुनासो रहेको छ । त्यसैले आज बैठक बस्दैछ । मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ ।
तपाईंहरुले धेरै मन्त्रालय माग्नुभएछ नि, भागबण्डामा कुरा मिल्छ ?
सबैलाई थाहा भएकै कुरा हो । माधवजीलाई अहिले अप्ठ्यारो अवस्था छ । त्यसैले अरु पार्टीले यसमा लचकता देखाउनुपर्छ भन्ने कुरा हामीले पहिलेदेखि नै भन्दै आएको हो । र, मलाई लाग्छ माधव नेपालजीलाई विभिन्न समयमा केपी आलीको विरुद्धमा साथ दिएर सँगै काम गरेको, त्यसैले उहाँलाई अप्ठ्यारो परेको समयमा हामीले लचकता देखाउनु हाम्रो नैतिक जिम्मेवारी हो । माधवजीको पार्टी र हाम्रो पार्टी अब सदनदेखि सडकसम्म सँगै जानुपर्छ, कम्युनिष्टहरु एकसाथ अघि बढ्नुपर्छ भन्ने हाम्रो मान्यता हो । त्यसैले हामीले माधवजीलाई सहयोग गर्छौं ।
त्यसोभए माधवकुमार नेपाललाई ७ वटा मन्त्रालय दिने सहमति भएको हो ?
संख्यामा चाँही त्यस्तो कुरा भएको छैन, तर उहाँलाई हामीले सहयोग गर्छौं ।
तपाईंहरुलाई कति वटा मन्त्रालय चाहिएको हो ? को जान्छ तपाईंको पार्टीबाट सरकारको नेतृत्व गरेर सरकारमा ?
होइन, त्यो त परिस्थिती हेरेर हुन्छ । हाम्रो पार्टीमा यस्तो संख्याको कुरा भएको छैन् । अब नेतृत्वको कुरामा जरुरी भएको छैन् । आवश्यकत्ता अनुसार निर्णय हुन्छ । यस विषयमा छलफलनै भएको छैन् ।
तपाईं त विज्ञान, प्रविधि तथा वातावरणमन्त्री भैसकेको व्यक्ति हो, अहिले काठमाडौंको फोहोर उठेको छैन्, यस विषयमा के भन्नुहुन्छ ?
यो चाँही दीर्घकालीन र धेरै ठुलो समस्या हो । यसको लागि मैलेपनि प्रयास गरिरहेको हुन्छु । तर, अहिले तीनै तहको सरकारको बीचमा फोहोरमैला उठाउने बारेमा गम्भिरता र संवेदनशिलता देखिएको छैन् । यसमा लगानीको वातावरण पनि धेरै वर्षदेखी रोकिरहेको छ । यो मुद्दा भनेको विश्वभरिकै मुद्दा हो । त्यसैले राजनीतिक र प्राविधिक रुपमा यसमा छलफल हुनुपर्छ । यो कुरा गम्भिर रुपमा उठाउनुपर्छ । अहिले वातावरण विश्वभरकै राजनीतिक मुद्दा बनेको छ । मैले हाम्रो पार्टीका नेताहरुलाई पनि यसलाई गम्भिरतापूर्वक लिनुहोस भनेको छु । यसप्रति नेताहरु पनि संवेदनशील हुनुपर्छ भनेर मैले भनेको छु ।