काठमाडौं, १५ भदौ । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादीमा बागमती प्रदेशका ११ जना सांसद गएका छन् । उनीहरुले आज हेटौंडास्थित प्रदेश निर्वाचन कार्यालय पुगी नेकपा एस रोजेको सनाखत गरेका हुन् ।
नेकपा एसमा ११ जना सांसद गएपछि नेकपा एमालेमा बागमती प्रदेशमा ४५ जना सांसद मात्र रहेका छन् । १०९ सदस्यीय प्रदेशसभामा एमाले सरकार अल्पमतमा परेको छ ।
आज नेकपा एस रोज्ने सांसदहरुमा काठमाडौंका वसन्त मानन्धर र ललितपुरका माधव पौडेल समेत छन् । मुख्यमन्त्रीका दाबेदार राजेन्द्र पाण्डेको सक्रियताले ११ सांसद पुगेका हुन् ।
अझै केही सांसद तान्ने प्रयास माधव नेपाल पक्षले गरिरहेको बुझिएको छ । दल रोज्ने समय २१ भदौसम्म राखिएकोमा आजै सनाखत गरेका हुन् । योसँगै अध्यादेश चाँडै निष्कृय बनाउने सरकारको तयारी देखिएको छ ।
यसअघि माधव नेपाल पक्षमा बागमती प्रदेशमा २२ सांसद रहेकोमा आधा एमालेमै रहेका छन् । अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री नियुक्त भई एमालेमै रहेपछि नेपाल पक्षमा संख्या घटेको हो ।
नेकपा एस रोजेका सांसदहरु
राजेन्द्र प्रसाद पाण्डे
वसन्त मानन्धर
माधव पौडेल
मुनु सिग्देल
लक्ष्मण लम्साल
वसुनधरा हुमागाईं
राजेन्द्रमान श्रेष्ठ
पार्वती सिलवाल
इन्द्रमाया गुरुङ
कुसुमकुमार कार्की
रमा आले मगर