काठमाडौं, १५ भदौ । बागमती प्रदेशमा नेकपा एमालेको सरकार ढल्ने निश्चितप्रायः भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा पर्ने भएपछि उनी नेतृत्वको सरकार ढल्ने भएको हो ।
नेकपा एमाले विभाजनपछि ५६ जना सांसद रहेको उसको ११ सांसदले नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी रोजेका छन् । अब एमालेसँग ४५ सांसद छन् । १०९ सदस्यीय बागमती प्रदेशमा बहुमतका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । अब गठबन्धनबाहेकका साना दलबाट पनि उक्त संख्या नजुट्ने भएपछि एमाले सरकार ढल्ने भएको हो ।
विगतमा ओली समूहमा ३४ र नेपाल समूहमा २२ जना रहेकोमा अष्टलक्ष्मी मुख्यमन्त्री बनेपछि ११ जना एमालेमै रहेका छन् ।
बागमतीमा अब एमालेका ४५, माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एसका ११, विवेकशीलका ३, नेमकिपाका २, राप्रपाका २ र स्वतन्त्र १ सांसद छन् ।
नेकपा एसमा ११ सांसद भएपछि अब काँग्रेस, माओवादी र नेकपा एसबाट ५६ सांसद पुग्ने भएका छन् । यो बहुमत संख्या हो । सम्भवतः बागमतीमा नेकपा एसका राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने छन् । उनले गठबन्धनलाई बहुमत पुग्ने गरी सांसद संख्या समेत पुर्याउन सफल भएका छन् ।