Logo

कांग्रेसको वडा अधिवेशनः कतै उत्साह कतै अन्योल



काठमाडौं, भदौ १५ । शुक्रबारदेखि शुरू हुन लागेको नेपाली कांग्रेसको वडा अधिवेशनमा कतै उत्साह देखिएको छ भने कतै अन्योल भइरहेको छ ।​

पूर्वघोषित कार्यतालिकाअनुसार भदौ १८ गते देशभर ६ हजार ७ सय ४३ वडामै एकै दिन अधिवेशन गर्ने भनिएको थियो । दुई दिनअघिसम्म पनि सबै जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा शुक्रबार धेरै वडाको अधिवेशन भने नहुने पक्का भएको छ ।

केन्द्रीय निर्वाचन समितिले सम्भव भएजति वडाको अधिवेशन पर्सि १८ गते नै गर्ने र यो दिन अधिवेशन गर्न नसकिएको वडाहरूमा २७ गते हुने गाउँरनगर अधिवेशन भन्दा दुईरतीन दिनअघिसम्म वडा अधिवेशन गर्ने तयारी गरेको छ ।

क्रियाशील सदस्यता विवाद नटुंगिएका कारण २१ जिल्लामा अझै निर्वाचन अधिकृत खटाउन सकेको छैन । निर्वाचन अधिकृत खटाइएको केही जिल्लामा अझै विवाद कायम रहेको छ ।

निर्वाचन समितिले मंगलबार साँझसम्म क्रियाशील सदस्यताको सूची सार्वजनिक गरेको ५६ जिल्लामा मात्र निर्वाचन अधिकृतलाई जिल्ला खटाएको जनाएको छ । कांग्रेसको क्रियाशील सदस्य वडा अधिवेशनका प्रतिनिधि तथा मतदाता हुन् । आजको नेपाल समाचारपत्र दैनिकबाट ।



प्रतिक्रिया दिनुहोस्