काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । आफ्नो पार्टीले कारवाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै उनले आज वारेसनामामार्फत सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । तर, निवेदन भने दर्ता हुन बाँकी छ ।
एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार रिटमा कारवाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ । एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो ।
तर, सभामुख सापकोटाले कारवाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारवाही गर्न नपर्ने निर्णय गरेका थिए । fil photo